Logo

सबैलाई ब्रोकर लाईसेन्स खुला गर्ने धितोपत्र बोर्डको तयारी, हरेक स्थानीय तहमा ब्रोकर सुविधा पुग्ने

सबैलाई ब्रोकर लाईसेन्स खुला गर्ने धितोपत्र बोर्डको तयारी, हरेक स्थानीय तहमा ब्रोकर सुविधा पुग्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबैले आवेदन दिन पाउने गरी नयाँ ब्रोकर लाईसेन्स खुला गर्ने तयारी गरेको छ । केही समय अघि अर्थ समितिले विभिन्न ११ ओटा मापदण्ड पुरा गरी बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन निर्देशन दिएपनि बोर्डले भने मापदण्ड पुरा गर्ने सबैका लागि ब्रोकर लाईसेन्स दिने तयारी गरेको हो ।

अहिलेको व्यवस्था अनुसार बैंकलाई मात्र ब्रोकर लाईसेन्स दिँदा बजार विस्तार हुनुको सट्टा झन् कार्टेलिङ बढ्ने सम्भावना भएको भन्दै अब प्रतिस्पर्धाबाट मापदण्ड पुरा गर्ने सबैका लागि ब्रोकर लाईसेन्स दिन लागिएको बोर्ड स्रोतले जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य बजारमा ब्रोकर संख्या बढाउने भन्ने भन्दा पनि बजारको दायरा विस्तार गरी प्रतिस्पर्धी बनाउने हो,’ बोर्ड स्रोतले भन्यो, ‘अहिलेकै अवस्थामा बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनु भनेको काठमाडौंमा थप २७ ओटा ब्रोकर थपिनु हो तसर्थ अबका दिनमा हरेक स्थानीय तहमा ब्रोकर सुविधा पुग्ने गरी नयाँ ब्रोकर लाईसेन्स खुला गर्ने तयारी गरिरहेका छौं ।’

तसर्थ अबका दिनमा बाणिज्य बैंक मात्रै नभई विकास बैंक वा निजी कम्पनीले समेत आवेदन दिन सक्नेगरी ब्रोकर लाईसेन्स खुला गर्न लागिएको समेत बोर्ड स्रोतले जानकारी दिएको छ । यसैगरी पूँजी बजार विश्लेषक विष्णु वस्याल पनि बैंकलाई ब्रोकर लाइसेन्स दिदैमा बजार विस्तार नहुने बताउँछन् । ‘अहिले २७ ओटै बाणिज्य बैंकले ब्रोकरका लागि आवेदन दिए भने पनि २७ ओटा ब्रोकर थप हुने हो,’ उनले भने, ‘यदि फ्रि मार्केट गर्न चाहने र बजार विस्तार गर्न चाहने हो भने बैंकलाई मात्रै होइन मापदण्ड पुरा गर्ने सबैका लागि खुला गर्नुपर्छ । सक्नेले ब्यवसाय गर्छन नसक्ने निस्कन्छ ।’

अब नीतिगत व्यवस्था गरेर सब–ब्रोकरको अवधारणा समेत ल्याउनुपर्ने उनको तर्क छ । अहिलेको कानूनी प्रावधान अनुसार ब्रोकरले आधिकारिक प्रतिनिधि नियुक्त गर्न पाउने भन्ने छ तर सब–ब्रोकरको अबधारणा छैन,’ उनले भने । साथै अहिलेको प्राबधान अनुसार कसरी र कस्तोलाई आधिकारिक प्रतिनिधि तोक्ने भन्ने स्पष्ट नभएको भन्दै यस विषयमा थप स्पष्टता पारेर ब्रोकरलाई प्रतिनिधि तोक्न मिल्ने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । साथै तत्कालै आधिकारिक प्रतिनिधि दिने हो भने हरेक नगरपालिकाबाट सेवा दिन सकिन्छ जसले गर्दा बजार विस्तार गर्न सहज हुनेछ ।

तर बैंकलाई मात्रै ब्रोकर लाईसेन्स दिने भनेर अहिले पुनः अर्को कार्टेलिङ गर्न खोजिएको उनको आरोप छ । अहिले ब्रोकरले एकाधिकार जमाएर ग्राहकलाई राम्रो सेवा दिएका छैनन् भने नयाँ प्रविधि पनि भित्र्याएका छैनन,’ उनले भने, ‘अहिले ब्रोकरको एकाधिकार भई प्रतिस्पर्धा नहुँदा लगानीकर्ता थप मारमा परेका छन्, तसर्थ प्रतिस्पर्धा गराएर लगानीकर्तालाई आधुनिक सुविधा दिएर बजार विस्तार गर्नका लागि पनि सबैका लागि ब्रोकर खुला गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL