Logo

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेबाट, २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेबाट, २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कुल निष्कासनमध्ये एक लाख २० हजार कित्ता कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २७ लाख ३० हजारको कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

२०७७ असार १४ गते आईपीओ निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीलाई बोर्डले २०७७ असोज ६ गते निष्कासन अनुमति दिएको थियो । कम्पनीको आईपीओमा छिटोमा असोज २५ गतेसम्म र उक्त समयमा पर्याप्त आवेदन नपरे कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्रीपछि एक अर्ब रुपैयाँ पुग्‍नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL