Logo

नेप्सेमा कोरोना असर : लगानीकर्ताले क्यास होल्ड गर्न थालेपछि बजारमा उल्टो सर्किट, अझै घट्ने विश्लेषकको दावी

नेप्सेमा कोरोना असर : लगानीकर्ताले क्यास होल्ड गर्न थालेपछि बजारमा उल्टो सर्किट, अझै घट्ने विश्लेषकको दावी



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर नेपाली सेयर बजारमा पनि देखिन थालेको छ । केही समयअघि सम्म लगातार उकालो लागेको नेप्से परिसूचक कोरोना भाइरस फैलने क्रम बढेसँगै नेप्से परिसूचकका उच्च गिरावट आएको छ ।

बढ्दो कोरोना भाइरस प्रभाव तथा घट्दो कच्चा तेलको मूल्यका कारण विश्व सेयर बजारमा उच्च गिरावट आईरहँदा मंगलबार नेप्से परिसूचक पनि खुलेको साढे २ घण्टामै उल्टो सर्किन हान्दै बन्द हुन पुगेको छ । मंगलबार बजार ६ प्रतिशत अर्थात ८६ दशमलव ३९ प्रतिशतले गिरावट आएको छ ।

बजारमा बिक्रीकर्ताको चाप बढ्दा बजार छोटो समयमै ६ प्रतिशतले घटेर मंगलबारका लागि बन्द भएको छ । कोरोना भाइरसको असरका कारण लगानीकर्ताले क्यास होल्ड गर्ने क्रम बढ्दा बजारमा बिक्री चाप बढेको एक लगानीकर्ताले जानकारी दिए । ‘कुनै महामारी तथा संक्रम फैलिरहँदा लगानीकर्ताले कमाउने भन्दा पनि आफुसँग भएको सम्पतिलाई होल्ड गरेर बस्न चाहन्छ,’ ती लगानीकर्ताले भने, ‘कोरोना भाइरसका कारण विश्व सेयर बजारमै मन्दी आएको सोको प्रभाव नेपाली सेयर बजारमा पनि पर्ने भएकाले लगानीकर्ताले आफुसँग भएको सेयर सस्तो मूल्यमै भएपनि बिक्री गरेर क्यास रिजर्भमा राखेर बस्न थालेका छन् ।’

कोरोना भाइरसको असर कम नभएसम्म दिन प्रतिदिन नेपाली सेयर बजार पनि ओरालो लाग्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘केही समयअघि सम्म चीनमा मात्र कोरोना भाइसर फैलिदा चीनसँग सामान आयात गर्ने व्यापारीहरुले सेयर बजारमा लगानी गरेका थिए,’ ती लगानीकर्ताले भने, ‘सो भाइरसको प्रभाव विश्वव्यापी रुपमा फैलिएपछि अहिले व्यापारीहरुले पनि आफुसँग भएको सेयर बिक्री गरेर क्यास होल्ड गर्न थालेका छन् ।’

अर्कोतर्फ विश्व अर्थतन्त्र नै नकारात्मक बाटोमा जान थालेपछि लगानीकर्ताहरु सुरक्षित लगानीको खोजीमा सुनमा लगानी गर्न आकर्षित हुँदा पनि सेयरमा लगानी घटेको एक लगानीकर्ताले बताए ।

मंलगबार उल्टो सर्किट हानेको बजारमा सबैभन्दा बढी जीवन बीमा कम्पनीको सेयर ७६३ अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा कम्पनीको सेयरमा पनि ३६२ अंकको गिरावट आएको छ ।
यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समूहको परिसूचकमा पनि ८३ दशमलव ३७ अंकको गिरावट आएको छ भने उत्पादनमुलक समूह १२७ र माइक्रोफाइनान्स समुहको परिसूचक १०२ अंकले घट्न पुगेको छ । लामो समयसम्म उकालो लागेको माइक्रोफाइनान्स समूहको परिसूचक राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामार्फत लाभांश वितरणमा कडाई गरेसँगै उच्चरुपमा गिरावट आएको छ ।

साढे २ घण्टामै बन्द भएको बजारमा १ अर्ब रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । दैनिक करिव ५ अर्ब रुपैयाँको कारोबार हुने सेयर बजारमा विश्व सेयर बजारमा आएको मन्दी तथा कोरोना भाइरसको प्रभावका कारण परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । दिनभर कुल १६१ कम्पनीको २७ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL