काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुला गरेको हो ।
यस आइपीओमा स्थानीयले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाखरुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस कम्पनीले १०० अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई जारी गरेको हो ।
यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसमा आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मको दागि आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारमा रहेका नेपालीले पनि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीमा गोल्यान समूहको लगानी छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । २० मेगावाटको सौर्य उर्जा क्षमताको भएको यसको परियोजना लागत २ अर्ब २ करोड ६० लाख रहेको रेटिङ एजेन्सीले जनाएको छ ।