Logo

आइपीओमा लकिङ र सर्वसाधारणको लगानी : नेपालको लागि उदाहरण बन्न सक्छ ‘स्विगी’, जहाँ लगानीकर्ताको ८ खर्ब डुब्यो

आइपीओमा लकिङ र सर्वसाधारणको लगानी : नेपालको लागि उदाहरण बन्न सक्छ ‘स्विगी’, जहाँ लगानीकर्ताको ८ खर्ब डुब्यो



काठमाडौं । भारतको अग्रणी ‘फुड डेलिभरी’ र ‘क्विक कमर्श’ कम्पनी स्विगीको भ्यालुमा ठूलो गिरावट आएको छ । सो कम्पनीको सेयर मूल्य २ महिनाको अबधिमा उच्चतम विन्दुबाट ५० प्रतिशत बढीले गिरावट आएको छ । यसबाट लगानीकर्ताहरूको ५० हजार करोड बढी भारतीय रुपैयाँ (८ खर्ब नेपाली रुपैयाँ) भन्दा बढी डुबेको छ । कम्पनीको सेयर नोभेम्बर १३, २०२४ मा आईपीओ लिस्टिङ भएपछि बिक्रीमा आएको थियो । त्यसपछि, स्विगीको सेयर मूल्य उच्च बढ्दै डिसेम्बर २०२४ सम्ममा १ लाख ३२ हजार ८०० करोड अर्थात (१६ अर्ब डलर) पुगेको थियो ।

त्यसपछि, जनवरी ३१, २०२५ बाट किस्ता किस्तामा संस्थापकहरुको लकिङ खुल्न थालेपछि सो कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आउन थालेको थियो । यससँगै कम्पनीको कुल भ्यालु फेब्रुअरी २१, २०२५ सम्ममा ८१, ५२७ करोड भारतीय रुपैयाँ (९.८२ बिलियन डलर) मा झर्यो, जसले मूल्यांकनमा ५१,२७३ करोड भारतीय रुपैयाँको गिरावट देखाउँछ । सेयर बजारमा सूचीकरण हुँदा कम्पनीको मूल्यांकन १२.७ अर्ब डलर थियो । स्विगीको सेयर राष्ट्रिय स्टक एक्सचेन्ज (एनएसई) मा ४२० रुपैयाँ र बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा ४१२ रुपैयाँमा सूचीबद्ध भएको थियो । तर, गिरावटका कारण, स्टक अब ३६० रुपैयाँमा झरेको छ ।

सन् २०२५ को सुरुवातदेखि नै स्विगीको सेयर ३३ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीले सावर्जनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २५ को तेस्रो त्रैमासिकको अपेक्षाभन्दा कमजोर नतिजाको रिपोर्टपछि स्विगीको सेयरमा गिरावट आएको छ । कम्पनीले अक्टोबर–डिसेम्बर अवधिमा ७९९.०८ करोड भारतीय रुपैयाँको घाटा रेकर्ड गरेको थियो, जबकि अघिल्लो त्रैमासिकमा यस्तो घाटा ६२५.५३ करोड भारतीय रुपैयाँ मात्रै थियो ।

स्विगीको सेयरमा गिरावटको कारण

सेयरको मूल्य घट्नुको कारण आईपीओ पछि सेयरमा लकिङ अवधिको अन्त्य पनि हो । नियमत कम्पनीले किस्ता किस्तामा संस्थापकहरुको सेयर लकिङ खुला गर्दै गयो । सोही अनुरुप जनवरी २९ मा कम्पनीको पहिलो किस्ता अर्थात २९ लाख कित्ता सेयरको अनलक भएको थियो । यसपछि, जनवरी ३१ मा, थप ३ लाख कित्ता सेयर बिक्रीको लागि उपलब्ध भयो । यही समयमा, फेब्रुअरी १० मा अधिकतम ६ करोड ५० लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्नका लागि अनलक गरिएको थियो । यस्तै फेब्रुअरी १९ मा १ लाख कित्ता सेयर अनलक गरियो । कुनै पनि थोक सम्झौता नभएको कारण, स्विगीको सेयर मूल्यमा उच्च गिरावट आउँदै फेब्रुअरी १४ सम्म आईपुग्दा ३२३ रुपैयाँमा झरेको थियो ।

यो अहिलेसम्मकै न्यून मूल्यमा पुगेको थियो । नेपालमा पनि रियल सेक्टर र जलविद्युत क्षेत्रको सेयरमा ३ वर्ष पछि एकैपटक संस्थापकहरुको सेयर लकिङ खुला हुँदै आएको छ । नेपाली पुँजी बजारले स्विगीको भन्दा ठूलो समस्या चिलिमे जलविद्युत आयोजनाको सेयरको लकिङमा भोगिसकेको छ । आईपीओ जारी पश्चात ब्लूचीप कम्पनीभन्दै प्रतिकित्ता २८ सय रुपैयाँसम्म पुगेको उक्त कम्पनीको सेयर मूल्य लकिङ खुलेसँगै ५ सय रुपैयाँसम्ममा झरेको थियो । जसबाट लकिङकै कारण स्थानीय प्रभावित जनताहरु सबैभन्दा बढी मारमा परेको थिए । यदि आगामी दिनमा नियामक निकायले आधारभुत प्रर्वद्धकहरुको सेयर लकिङको विषयमा नयाँ नियम नबनाउने हो भने स्विगीको जस्तै दोस्रो बजारमा लगानीकर्ता फस्ने जोखिम उच्च रहेको सम्बद्ध सेयर लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्