काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि फागुन ११ गते आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै नबिकेमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । यसको रजिष्टर्ड कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७५ करोड रुपैयाँ तथा चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ ।
यो आईपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर मार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले नेपाल माइक्रोको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।