काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज पुस २१ गतेदेखि सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।