काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डले कम्पनीलाई अनुमति प्रदान गरेको हो । यो हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
नेको इन्स्योरेन्सले उक्त हकप्रद शेयर निष्काशनका लागि २०८० साल चैत ६ गते आवेदन दिएको थियो । यस कम्पनीलाई नियामकको निर्देशन बमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । पूँजी बृद्धिकै लागि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यो हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनी ७ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २७९ रुपैयाँ ८१ पैसा छ ।