Logo

सेयर बजार बुझ्न दशैं बिदामा हेर्न उपयुक्त १० फिल्महरु

सेयर बजार बुझ्न दशैं बिदामा हेर्न उपयुक्त १० फिल्महरु



काठमाडौं । दशैं नेपालीहरुको महान सांस्कृतिक, धार्मिक, र पारिवारिक पर्व हो । यो समयमा कामबाट अन्य समयको तुलनामा बढी नै बिदा पाईन्छ । दशैंको लामो बिदामा काम र तनावबाट टाढा रहन, परिवारसँग समय बिताउन, र व्यक्तिगत रुचिहरूमा ध्यान दिन उपयुक्त मौका मिल्छ । यो फुर्सदको समयमा धेरैले आफैंलाई आराम दिने, नयाँ ज्ञान आर्जन गर्ने, र मनोरञ्जनका माध्यमहरू खोज्ने गर्छन् ।

दशैंको फुर्सदलाई अझ बढी उपयोगी र ज्ञानवर्धक बनाउन अर्थव्यवस्था र बजारसम्बन्धी चलचित्रहरू हेर्नु राम्रो विकल्प हुन सक्छ । अझ सेयर बजारसँग सम्बन्धित मानिसहरुले फिल्महरूबाट वित्तीय संकट, बजारमा हुने अनियमितता, र स्टक मार्केटको संसार, आँकडाहरूको सही उपयोगलगायत बुझ्न जरुरी हुन्छ । केहि यस्ता फिल्महरु छन् जसले बजारमा हुने अनियमितता, र स्टक मार्केटको संसार, आँकडाहरूको सही उपयोगलगायत बुझ्न सिकाउँछन् ।

यस्ता फिल्महरूले मनोरञ्जन मात्र प्रदान गर्दैनन्, आर्थिक बजार, वित्तीय जोखिम, र व्यक्तिगत तथा संस्थागत सफलता असफलतासँग सम्बन्धित गहिरा विषयहरूबारे सोच्न प्रेरित गर्छन् । दशैंको फुर्सदमा घरमै बस्दा यी चलचित्रहरू हेर्दा तपाईंले वित्तीय संसारको वास्तविकतासँग साक्षात्कार गर्न सक्नुहुन्छ । जसले तपाईंको ज्ञान मात्र बढाउँदैन, तर भविष्यका लागि पनि महत्वपूर्ण शिक्षा दिन्छ । आज हामीले दशैंको फुर्सदको समयमा हेर्नका लागि अर्थव्यवस्था र बजारसम्बन्धी १० उत्कृष्ट चलचित्रहरूको सूची प्रस्तुत गरेका छौं ।

१. द बिग शर्ट (२०१५)

यो फिल्म सन् २००८ को आर्थिक मन्दीमा आधारित छ, जसले अमेरिकी हाउजिङ मार्केटमा भएको ठगी र वित्तीय अस्थिरता उजागर गर्छ । फिल्ममा केही व्यवसायीहरू र विश्लेषकहरूले मन्दीको पूर्वानुमान गरेका हुन्छन् र त्यसको फाइदा उठाउँदै मुनाफा कमाएको देखाईएको छ । द बिग शर्टले वित्तीय बजारको अस्थिरता, ठूलो जोखिम, र बैंकिङ प्रणालीको त्रुटिलाई गहिरो रूपमा प्रस्तुत गर्छ । दशैंको फुर्सदमा यो फिल्म हेर्दा मन्दीमा पनि सेयर बजारको यथार्थता बुझ्न मद्दत मिल्छ ।

२. वाल स्ट्रिट (१९८७)

वाल स्ट्रिट एक क्लासिक फिल्म हो, जसले लालच, शक्ति, र आर्थिक सफलताको खोजीमा गरिएको नैतिक संघर्षलाई चित्रण गर्छ । गॉर्डन गेको पात्रले स्टक मार्केटमा हुने अनैतिक कामहरू र व्यापारिक रणनीतिहरूलाई उजागर गर्छ । यो फिल्मले सेयर बजारमा हुने अनियमितता, धोखाधडी, र व्यक्तिगत फाइदाका लागि गरिने खेलहरूको यथार्थता देखाउँछ ।

३. टु बिग टु फेल (२०११)

यो फिल्मले सन २००८ को वित्तीय संकटलाई कसरी ठूला बैंकहरूले उत्पन्न गरे र त्यसबाट कसरी सरकारको हस्तक्षेपले वित्तीय प्रणालीलाई बचायो भन्ने कुरालाई उजागर गरेको छ । यसमा देखाइएको घटनाले ठूलो वित्तीय संस्थाहरूको पतनले विश्वव्यापी अर्थतन्त्रलाई कति गहिरो असर पुर्याउँछ भन्ने स्पष्ट पार्छ । दशैंको फुर्सदमा यो फिल्म हेर्दा वित्तीय संकटको जटिलता बुझ्न सकिन्छ ।

४. मनीबल (२०११)

मनीबल आर्थिक विश्लेषण र खेल व्यवस्थापनको मिश्रण हो । यो चलचित्र बेसबलको एउटा वास्तविक कथा हो, जहाँ खेलाडीहरूलाई परम्परागत रूपमा मूल्याङ्कन गर्नुको सट्टा विश्लेषणात्मक आँकडाहरू प्रयोग गरी सफलता प्राप्त गरिएको देखाईएको छ । फिल्मले कसरी तथ्याङ्क र डाटा प्रयोग गरी सीमित बजेटमा पनि उच्च प्रदर्शन गर्न सकिन्छ भन्ने कुरा देखाएको छ ।

५. द वुल्फ अफ वालस्ट्रिट (२०१३)

द वुल्फ अफ वालस्ट्रिट एक वास्तविक घटनामा आधारित फिल्मा हो । यो फिल्मले जोर्डन बेल्फोर्टको जीवन र स्टक मार्केटमा गरिने धोखाधडीलाई देखाउँछ । बेल्फोर्टले अनैतिक व्यापारिक कामहरू गरेर ठूलो धन कमाए, तर अन्ततः कानूनी समस्यामा फसे । फिल्मले बजारमा हुने धोखाधडी, लालच, र अनैतिक अभ्यासहरूको यथार्थता उजागर गर्न खोजेको छ ।

६. मार्जिन कल (२०११)

यो फिल्मले वित्तीय बजारमा हुने अनिश्चितता र जोखिमको चित्रण गरेको छ । फिल्ममा एक लगानीकर्ता बैंकले वित्तीय संकटको सुरुवातमा आफ्नो असफलता बुझ्छ र त्यसलाई अरूले नबुझ्नेभन्दा पहिले नै समस्याबाट बाहिर निस्कने योजना बनाउँछ । यो फिल्मले बजारमा हुने अनिश्चितताहरू, जोखिम व्यवस्थापन, र ठूला वित्तीय संस्थाहरूको अनैतिकतालाई दर्शाएको छ ।

७. द पर्स्युट अफ ह्याप्पीनेश (२००६)

यो प्रेरणादायी फिल्मले क्रिस गार्डनरको जीवन संघर्षलाई देखाउँछ, जसले आफ्नो वित्तीय अवस्था सुधार्नका लागि धेरै चुनौतीहरूको सामना गरेका थिए । फिल्मले आर्थिक अस्थिरता, बेरोजगारी, र व्यक्तिगत संघर्षको बारेमा महत्वपूर्ण सन्देश दिन्छ । दशैंको फुर्सदमा यो फिल्म हेर्दा आर्थिक चुनौतीहरूको सामना गर्ने प्रेरणा मिल्छ ।

८. एनरन : द स्मार्टेस्ट गाइज इन द रुप (२००५)

यो वृत्तचित्रले अमेरिकी इतिहासको सबैभन्दा ठूलो वित्तीय काण्ड, एन्रन घोटालालाई उजागर गरेको छ । एन्रन कम्पनीद्वारा गरिएका अनैतिक गतिविधिहरू र त्यसले संसारभरि पारेको आर्थिक असरलाई फिल्मले प्रस्तुत गरेको छ । यो फिल्मले कम्पनीहरूको अनैतिक व्यावसायिक कामले विश्वव्यापी अर्थतन्त्रमा कस्तो असर पार्न सक्छ भन्ने कुरा स्पष्ट पारेको छ ।

९. बोइलर रुम २०००

बोइलर रुम एक व्यापारिक कम्पनीको कथा हो, जहाँ कर्मचारीहरूलाई ठग कम्पनीको सेयर बिक्री गरेर धनी बन्न प्रेरित गरिन्छ । फिल्मले अनैतिक व्यापारिक अभ्यासहरू, वित्तीय धोखाधडी, र भ्रष्टाचारको यथार्थलाई उजागर गरेको छ । यो फिल्मले वित्तीय बजारको अन्धाधुन्ध लालच र अनैतिकता देखाउँछ ।

१०. इन्साइड जब २०१०

यो एकेडेमी पुरस्कार विजेता वृत्तचित्रले सन २००८ को वित्तीय संकटको गहिरो अध्ययन गरेको छ । फिल्मले अनियमित बैंकिङ प्रणाली, खराब नियमन र अनैतिक गतिविधिहरूले कसरी वित्तीय संकट निम्त्याउँछ भन्ने देखाउँछ । इन्साइड जब हेर्दा वित्तीय प्रणालीको कमजोरी र सुधार आवश्यकताबारे चेतना पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्