काठमाडौं । भारतको पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले बजारमा खुद्रा लगानीकर्ताको सहभागिता बढाउन नयाँ प्रस्ताव गरेको छ । यसका लागि बुधबार सेबीले आधारभूत सेवा डिम्याट खाताको सीमा बढाउन प्रस्ताव गरेको हो ।
पुँजी बजार नियामक सेबीले बुधबार गरेको प्रस्तावमा आधारभूत सेवा डिम्याट खाता (बीएसडीए) को सीमा बढाउने प्रस्ताव छ । हाल यस खातामा २ लाख रुपैयाँको सीमा रहेको छ, जसलाई बढाएर १० लाख पु¥याउने प्रस्ताव गरिएको छ । साना पोर्टफोलियो भएका लगानीकर्ताहरूमा डिम्याट शुल्कको बोझ कम गर्न सेबीले यो सुविधा २०१२ मा सुरु गरेको थियो ।
सेबीले बीएसडीएमा धितोहरूको मूल्य सीमा बढाउने सम्बन्धमा जून ५ मा परामर्श पत्र जारी गरेको छ । यसमा सेबीले आधारभूत सेवा डिम्याट खाताको सीमा १० लाख रुपैयाँ पुर्याउने उल्लेख छ । हाल, बीएसडीएको लागि योग्य हुन एक व्यक्तिले एकल डिम्याट खातामा २ लाख सम्म ऋण धितोबाहेक अन्य धितो राख्न सक्छ । सेबीले भनेको छ कि एक व्यक्तिसँग एउटा मात्र डिम्याट खाता हुनुपर्छ जसमा उ एकमात्र वा पहिलो होल्डर हुन्छ । सबै डिपोजिटरीहरूमा व्यक्तिको नाममा एउटा मात्र बीएसडीए हुनुपर्छ ।
सेबीले बीएसडीएको लागि वार्षिक सेवा शुल्क शून्य र रु २ लाख देखि १० लाखसम्मको पोर्टफोलियो मूल्यको लागि १०० रुपैया शुल्क प्रस्ताव गरेको छ । यदि पोर्टफोलियो मूल्य १० लाखभन्दा बढी छ भने बीएसडीए स्वचालित रूपमा नियमित डिम्याट खातामा रूपान्तरण हुनुपर्छ । नियामकले खातावालाहरूलाई इलेक्ट्रोनिक स्टेटमेन्ट निःशुल्क उपलब्ध गराउनुपर्ने पनि बताएको छ ।
बीएसडीए खाता के हो ?
आधारभूत डिम्याट खाता भनेको आधारभूत सुविधाहरू प्रदान गर्ने खाता हो । यस खाताको सेवा शुल्क लागत एकदमै कम हुन्छ । यो खाता स्टक, बन्ड, ईटीएफ, म्युचुअल फन्ड आदिमा नियमित रूपमा लगानी नगर्ने खुद्रा लगानीकर्ताहरूको लागि हो ।
सेयर बिक्रीको पैसा ग्राहकको खातामा
बजार नियामक सेबीले शेयर बिक्रीको पैसा सिधै ग्राहकको खातामा जम्मा गर्न अनिवार्य गरेको छ । ग्राहकको पैसाको जोखिम कम गर्ने उद्देश्यले सेबीले यो कदम चालेको हो । बजार नियामकले बुधबार जारी गरेको सूचनाअनुसार यी नयाँ नियमहरु अक्टोबर १४, २०२४ देखि लागु हुनेछन् । सेबीले ग्राहक र ब्रोकरको खातामा कुनै भिन्नता देखिएमा क्लियरिङ कर्पोरेसनले ट्रेडिङ सदस्य वा क्लियरिङ सदस्यलाई लिलामीमार्फत क्षतिपूर्ति दिन सक्ने सुझाव दिएको छ ।
यस्तो अवस्थामा ब्रोकरले कुनै शुल्क लिन सक्नेछैन । मे २०२३ मा सेबीले ग्राहकहरूको शेयर पैसा भुक्तानीसम्बन्धी धेरै प्रक्रियाहरू ल्याएको थियो । हालको नियमअनुसार क्लियरिङ कर्पोरेसनहरूले शेयर बिक्री पछि ब्रोकरको पूरा खातामा पैसा जम्मा गर्छन् । यसपछि ब्रोकरले यो रकम सम्बन्धित ग्राहकको डिम्याट खातामा पठाउँछ ।