Logo

प्रिमियम मूल्यमा आइपीओ अनुमति : कम्पनी ऐन देखाएर पन्छिदै बीमा प्राधिकरण, स्वीकृति दिने छैन कानूनी आधार

प्रिमियम मूल्यमा आइपीओ अनुमति : कम्पनी ऐन देखाएर पन्छिदै बीमा प्राधिकरण, स्वीकृति दिने छैन कानूनी आधार



काठमाडौं । बीमा कम्पनीहरुले जारी गरेको प्रिमियम मूल्यको आईपीओ निष्कासन प्रक्रियामा बीमा प्राधिकरणले कम्पनी ऐनको दफा देखाएर पन्छिन खोजेको छ । प्राधिकरणले कम्पनी ऐन २०६३ को दफा २९ बमोजिम प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको र उक्त व्यवस्था अनुसार नै आफुले बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको बताएको जिकिर गरेको छ । तर, आइपीओ स्वीकृतिको स्पष्ट कानुनी आधार भने प्राधिकरणले लेखा समितिसमक्ष पेश गर्न नसकेको हो ।

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दा जनतालाई भार परेको भन्दै लेखा समितिले बीमा प्राधिकरणलाई स्पष्ट पार्न भनेको थियो । लेखा समितिले गत कार्तिक १६ गते आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल लाइफ र सन नेपाल लाइफ इन्स्ययोरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको विषयमा स्पष्ट पार्न भन्दै प्राधिकरणलाई पत्र लेखेको थियो ।

यसैगरी, लेखा समितिले कुन कानुनको आधारमा बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको हो ? भनेर प्रश्न गरेको थियो । लेखा समितिको प्रश्न नम्बर १२ को जवाफमा बीमा प्राधिकरणले ‘बीमा ऐन २०७९ को दफा २५ को उपदफा (१) बमोजिम बीमा कम्पनीहरु अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना हुनु पर्ने व्यवस्था र कम्पनी ऐन २०६३ को दफा २९ बमोजिम प्रिमियममा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको छ’ सोही व्यवस्था अनुसार आईपीओ निष्कासनको लागि अनुमति दिएको जानकारी दिएको छ ।

प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै कम्पनीको जगेडा कोष वृद्धि हुने र यसलाई पूँजीकरण गर्दा सेयरधनीहरुलाई पुनः बोनस सेयरको रुपमा जारी गरिने हुँदा यसबाट सेयरधनीलाई फाईदा हुने गरी प्राधिकरणले निष्कासनको अनुमति दिएको जानकारी गराएको छ । यसैगरी, धितोपत्र निष्कासन गर्नका लागि बोर्डबाट प्रिमियम मूल्य कायम भएर आएको विवरण प्राधिकरणमा बुझाएको भन्दै यसको प्रक्रियामा कुनै कैफियत नभएको बीमा प्राधिकरणले उल्लेख गरेको छ ।

बीमा प्रधिकरण तथा नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिदा सर्वसाधारणले सेयर खरिद गर्न महँगो मूल्य तिर्न बाध्य हुनुपरेको भन्दै लगानीकर्ताले अख्तियार, लेखासमिति लगायतका निकाउमा उजुरी गरेका थिए । १ सय रुपैयाँ प्रति कित्ता सेयर मूल्यमा भर्न पाउँदा सामान्य लगानीकर्ताले पनि आईपीओबाट केहि फाइदा लिन पाउँथे । तर, पछिल्लो समय धेरै कम्पनीको आईपीओ प्रिमियम मूल्यमा आउँदा सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच पनि गुम्दै गएको लगानीकर्ताको बुझाई छ ।

हिमायल रिइन्स्योरेन्ससहित ३ बीमा कम्पनीले प्रिमियम मूल्यमा जारी गरे आईपीओ

हिमालयन रि इन्स्योरेन्स कम्पनी सहित ३ बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरिसकेका छन । सिटिजन्स लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९० रुपैयाँ प्रिमियम थप गरि कुल २९० रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गरेको छ । यसैगरी, आईएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ निष्कासन गरेको छ ।

यता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । यसैगरी, हिमालयन रि इन्स्योरेन्स कम्पनीले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिसेयर अंकित १ सय रुपैयाँमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २ सय ६ रुपैयाँका दरले सेयर बिक्री गरेको छ ।

प्रतिक्रिया दिनुहोस्