Logo

किन बढ्दैछ आईपीओमा सेबोनको प्रिमियम मोह ? मूल्यमा नेप्सेले गर्दैछ रिजेक्ट

किन बढ्दैछ आईपीओमा सेबोनको प्रिमियम मोह ? मूल्यमा नेप्सेले गर्दैछ रिजेक्ट



काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी प्रणालीलाई प्रथामिकता दिएपनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले भने त्यसलाई ‘रिजेक्ट’ गर्दै आएको छ । सेबोनले तजबिजी अधिकारमा उच्च मूल्यमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएपनि नेप्सेमा सूचीकृत भएर कारोबार भएकै दिन त्यस्ता कम्पनीका सेयर मूल्यमा नेगेटिभ सर्किट देखिएको अर्थात दोस्रो बजारले प्रिमियम मूल्यको आईपीओलाई ‘जस्टिफाइ’ नगरी रिजेक्ट गरिदिन थालेको छ ।

धितोपत्र बोर्डले विना आधार कागजात मिलाएकै भरमा उच्च मूल्य जोडेर प्रिमियममा आईपीओ जारी गर्न दिएको घोराही सिमेन्टमा लगानीकर्ताले केही दिनमै आईपीओ भरेकै मूल्यमा पनि स्टपलस गर्नुपर्ने बाध्यता सिर्जना भयो । यसैगरी हिजोमात्रै नेप्सेमा कारोबारमा आएको सोनापुर सिमेन्टको कारोबार खुलेको केही समयमै दुबै दिन नेगेटिभ सर्किट हानेर कारोबार हुन सकेन । यसैगरी सेबोनले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको कुनै पनि इन्स्योरेन्स कम्पनीहरुको पनि दोस्रो बजारमा ओपनिङ मूल्यभन्दा माथि रेट बस्न सकेन । अर्थात यसले अहिलेको अवस्थामा बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर गलत गरेको स्पष्ट सन्देश दिएको छ ।

पछिल्लो समय लिक्वडेशनमा जान लागेको कम्पनीलाई बचाउन पैसा उठाउने राम्रो माध्यम बनेको छ आईपीओ र त्यसमा नियामक निकाय सेबोनको राम्रो साथ रहेको छ । ‘प्रिमियमा आईपीओ जारी गर्न दिनका लागि कुनै खास प्रक्रिया छैन यसमा कागजात मिलाएको भरमा पाईन्छ,’ एक ठूला लगानीकर्ताले भने, ‘त्यसरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्दा नियामक निकाय सेबोनका उच्च पदस्थ कर्मचारी र सम्बन्धित कम्पनी दुबैलाई उच्च आर्थिक लाभ हुने भएकाले सोहीअनुरुप प्राथमिकता दिएको छ ।’

साथै पछिल्ला समय सेबोनले आन्तरिक सहमतिमा ज्यादै न्यून नेटवर्थ भएका कम्पनीलाई पनि रिभ्यालुएशन गर्न लगाएर नेटवर्थ बढाउँदै कमिशनको खेलमा आईपीओ जारी गर्न स्वीकृति दिँदै आएको सम्बद्ध सरोकारवालाहरुको आरोप छ । बढी मूल्यमा आईपीओ जारी गर्दा संसारभर बुकबिल्डिङ प्रणाली प्रचलनमा छ । जसमा संस्थागत लगानीकर्ताले कम्पनीको वास्तविक वासलात अध्ययन गरेर त्यसैको आधारमा विडिङ गर्छन र मूल्य तय गरिन्छ ।

त्यसरी आईपीओ जारी गर्दा बढी पारदर्शी हुन्छ भने आर्थिक चलखेल पनि कम हुन्छ । तर, प्रिमियम मूल्यमा कागजात मिलाएकै भरमा सीमित व्यक्तिको तजविजी अधिकारमा मूल्य तय गर्न पाईने भएकाले नेपालमा सेबोनले सोही प्रक्रियालाई उच्च प्राथमिकता दिँदै आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्