Logo

सिटिजन लाइफको आईपीओमा आवेदन दिने समय आजसम्म, कार्यालय समयभित्र आवेदन गर्नुपर्ने

सिटिजन लाइफको आईपीओमा आवेदन दिने समय आजसम्म, कार्यालय समयभित्र आवेदन गर्नुपर्ने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरिदका लागि सोमवारसम्म ११ लाख ७ हजार ४८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूले १ करोड २४ लाख ५० हजार १२० कित्ता शेयर माग गरेका हुन् । जुन मागभन्दा १ दशमलव ३८ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि भदौ १९ गतेसम्म मात्र बिक्रीमा रहनेछ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ बिक्री गरेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताहरूले आवेदन पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको थियो । २०६४ साल असार १२ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनीले २०७४ साल भदौ ७ गते जीवन बीमा सम्बन्धि कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

यो कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो । अधिकृत पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ५ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ छ ।

सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रूपैयाँ कायम हुनेछ । आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पुर्याउने योजना रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL