Logo

भगवती हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा बाँडफाँड, तपाईलाई पर्यो त ?

भगवती हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा बाँडफाँड, तपाईलाई पर्यो त ?



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले सोमवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।

भदौ ५ गतेदेखि ८ गतेसम्म यस कम्पनीले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आईपीओ विक्री गरेको थियो । भाग्यमानी ७१ हजार २२२ जना आवेदकहरूले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।

तोकिएको अवधिभित्र १३ लाख ९ हजार ६६ जना आवेदकहरूबाट १ करोड ४२ लाख ७६ हजार २४० कित्ता शेयर खरीद माग भएको थियो । यीमध्ये रितपूर्वक नभएको भन्दै २ हजार ३८९ जना आवेदकबाट प्राप्त ३५ हजार ६९० कित्ता शेयर खरीद आवेदन रद्द गरिएको समेत विक्री प्रबन्धकको भनाई छ । योग्य १३ लाख ६ हजार ६७७ जनाको आवेदनलाई मात्र गोलाप्रथामार्फत गरिएको बाँडफाँटबाट सहभागी गराईएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL