Logo

अव सूचीकृत कम्पनीले नेप्सेको वेभसाइटमा सूचना तथा विवरण राख्न सक्ने

अव सूचीकृत कम्पनीले नेप्सेको वेभसाइटमा सूचना तथा विवरण राख्न सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनी स्वयंले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेभसाइटमा राख्न सक्ने गरी तयार गरिएको नयाँ प्रणाली सार्वजनिक गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीवी नेपालले नयाँ प्रणालीको समुद्घाटन गरे ।

सो अवसरमा गभर्नर डा.नेपालले सूचना प्रवाहलाई थप चुस्त बनाउन नेप्सेले थालेको प्रयासको प्रसंशा गरे । साथै यस्तो प्रयासलाई अझै सुदृढ गराउँदै लैजानेमा आफु विश्वस्थ रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजी बजारमा सूचना प्रवाहको अपरिहार्यतालाई नेप्सेले आत्मसात गरेको बताए । ‘कम्पनीबाट प्राप्त हुने सूचनाहरुलाई नेप्सेले रुजु गरी सर्वसाधारणमा पु¥याउने प्रणालीको विकासलाई भरपर्दो मान्नु पर्छ,’ उनले भने । कार्यक्रममा नेप्सेका अध्यक्ष रामजी रेग्मीले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जाने नेप्सेको प्रयासमा नयाँ पद्धति थप सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले लगानीकर्तालाई छिटो र विश्वसनीय सूचना प्रदान गर्ने दिशामा नेप्सेले हरसम्भव प्रयास गर्ने बताए । सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना जानकारी तथा विवरणहरुका आधारमा लगानीकर्ताहरुले लगानी सम्बन्धी निर्णयलाई सहज बनाउने हुँदा यसैका आधारमा आफ्ना बचत परिचालन गर्दछन् ।

आजसम्म सूचीकृत कम्पनीहरुले नेप्सेलाई सूचना आदि पठाउने र प्राप्त हुनासाथ यस्ता सूचना आदिलाई नेप्सेले आफ्नो वेवसाइट तथा प्रणालीमा प्रविष्टी गरी सार्वजनिक गर्दै आएको थियो । यस प्रक्रियामा यदि धेरै कम्पनीहरुबाट एकै चोटी यस्ता सन्देशहरु क्रमशः प्रणालीमा प्रविष्टि गर्नुपर्ने हुँदा बोटलनेक हुन जाने हुँदा समय बढी लाग्ने अवस्था थियो ।

यसलाई अरु छिटो छरितो एवं पारदर्शी बनाई संस्थागत गतिविधिबाट सिजृत सन्देशलाई कम्पनी स्वयंले जिम्मेवारी पूर्वक नेप्सेको वेवसाइटको तोकिएको फिल्डमा प्रविष्टी गर्ने बताइएको छ । यसरी प्रविष्टी गर्दा कुनै निर्णय आदि बेलुकाको संचालक समितिबाट निर्णय भएमा÷गरिएमा भोलिपल्ट कारोबार समय पूर्व र भोलिपल्ट बिहान भए तुरुन्त कारोबार समय पूर्व नेप्सेको वेवसाइटमा प्रविष्टी गर्नु पर्नेछ ।

प्राप्त सूचना, जानकारी तथा विवरणहरु नेप्सेको तोकिएको पदाधिकारीले रुजु गरे पश्चात् नेप्सेको वेवसाइट मार्फत सार्वजनिक हुनेछ । साथै सूचना प्रविधि शाखाले सूचीकृत कम्पनीबाट प्राप्त सूचना प्रिन्ट गर्ने र कारोबार सिस्टममा हाल्ने र अभिलेख राख्ने कार्य गर्दछ । यी कार्यहरुको अनुगमन कारोबार तथा सर्भिलेन्स शाखाले नियमित रुपमा गर्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाबाट स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना, जानकारी तथा विवरणहरुको महत्व साथै सर्वप्रथम लगानीकर्ताहरुको लागि यस्ता सन्देशले महत्व राख्ने व्यहोरा प्रष्ट पारेको छ । यदि कुनै कम्पनीले निर्णय पश्चात् सो को जानकारी सर्वसाधारण लगानीकर्ताहरुलाई उपलब्ध गराएन भने सेयरहोल्डरहरु स्वयंले कम्पनीसँग प्रश्न तथा प्रतिप्रश्न गर्न सक्ने वातावरण समेत सिर्जना हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्