Logo

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा ६ लाख ७८ हजार ६०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँट गरेको हो । स्थानीयमा कम्पनीले ७ लाख ६० हजार कित्ता शेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता शेयरसमेत सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले जारी पूँजी रू. ७६ करोडको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता शेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा विक्री गर्न लागिएको कुल कित्ता शेयरमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअर सम्मको रेटिङ् प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी त्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL