काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निष्कासनका लागि छुट्याइएकोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
पाँच प्रतिशत अर्थात् दुई लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र तीन प्रतिशत अर्थात् एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहररूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीले निष्कासन गरेको शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ चैत १२ गतेसम्म निष्कासनमा रहने छ । ढिलोमा चैत २२ गते आवेदन खुला हुने बताइएको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरिरहेको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ । त्यसैगरी, आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ रहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहररू र तिनका तोकिएका शाखा कार्यालयहररूबाट आवेदन दिन सक्ने छन् । गत असोज मसान्तसम्म यो कम्पनीको प्रतिशेयर आम्दानी ८ रूपैयाँ २४ पैसा छ । प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ १३ पैसा छ ।