काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा भएको साधारणसभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरिएको छ ।
वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आव २०७८/०७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी ६० रुपैयाँ ३९ पैसा कायम गरी सञ्चालमा रहेका मर्चेण्ट बैंक मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए ।
उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित ५ वटा योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकबाट रु.१ अर्व ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको बताए । साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत उनले जानकारी दिए ।
अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाइको खरिद पुनः खरिद तथा लगानी व्यवस्थापन सेवासमेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र किर्तीपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।
साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति रहेको जनाएको छ । क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्गसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
साथै एन आई सी एयिशा बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डमा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान र सिस्टमेटिक विथड्रल प्लान सञ्चालन गर्न लागेको छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसय पत्र प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत प्राइभेट इक्विटी/भेन्चर क्यापिटल सेवा प्रदान गर्ने योजना रहेको छ ।