Logo

यो दशैंमा बस चढेर गाउँ जान पाईन्छ कि पाईँदैन ? यसो भन्छन बस व्यवसायी

यो दशैंमा बस चढेर गाउँ जान पाईन्छ कि पाईँदैन ? यसो भन्छन बस व्यवसायी



काठमाडौं । नेपालमा चाडपर्वको सिजन शुरु भइसकेको छ । साउनमा जनैपूर्णिमा देखि शुरु भएको चाडपर्वको मौसम भाद्र पहिलो साता तीजसँगै थप ठूला पर्व उन्मुख भइसकेको छ । तर, विश्वभर कोरोना भाईरस संक्रमण (कोभिड–१९) को महामारी र नेपालमा पनि परेको संक्रमणको असरले चाडपर्वको मौसम अहिलेसम्म शुरु भएको अनुभुति हुन सकेको छैन् । अघिल्ला वर्षहरुमा भने यतिबेला चाडपर्वको रौनक शुरु भइसक्थ्यो ।

मितिको हिसाबले अबको दुई महिनामा दशैंको टीकाको दिन हो । नेपाली जनहरुको सबैभन्दा ठूलो पर्वको रुपमा दशैंको सांस्कृति, आर्थिक र सामाजिक रुपमा निकै ठूलो अर्थ र महत्व छ । यसैले दशैंको रौनक केही महिना पहिले नै शुरु हुने गर्छ ।

बिदेशमा रहेकाहरुले दशैंमा घर फर्किन बिदा मिलाउने र टिकट बुक गर्ने समय शुरु भइसक्यो । स्वदेशमा रहेकाहरुले पनि दशैं कसरी मनाउने भनेर प्रारम्भिक योजना तय गर्ने समय आइसक्यो । तर, यसपटक न त बिदेशबाट दशैं मनाउन देश फर्किन पाउने टुंगो छ न त स्वदेशमै रहेकाहरु पनि शहरबाट गाउँ जाने सहज अवस्था नै देखिन्छ ।

मुख्यतः यो दशैं कस्तो हुन्छ भन्ने धेरै कुरा भने लामो दूरीको यातायात र नियमित राष्ट्रिय तथा अन्तरािष्ट्रय उडान सहज रुपमा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने विषयले धेरै प्रभाव पर्ने देखिन्छ । अन्तराष्ट्रिय उडान सहज भएको अवस्थामा पनि एकमात्र अन्राष्ट्रिय बिमानस्थल काठमाडौंमा रहेकाले काठमाडौंबाट लामो दूरीका बसको सहज व्यवस्था नभएर बिदेशबाट स्वदेश आएका पनि गाउँ जान सक्ने अवस्था रहँदैन् ।

यस्तै काठमाडौंलगायतका विभिन्न शहरबाट गाउँ जाने लाखौं सर्वसाधारणका लागि पनि सार्वजनिक यातायात सबैभन्दा महत्वपूर्ण माध्यम हो । तर, करीब ५ महिनायता बन्दाबन्दीका कारण थन्किएका सार्वजनिक यातायातका सावरीले यसपटक शहरबाट दशैं गाउँ लाने हुन कि नलाने हुन भन्नेमा अहिलेसम्म पूरै अन्यौलता कायम छ ।

दशैंलगायतका चाडपर्वहरु नजिकिँदै जाँदा दशैंमा आफ्नो गन्तब्यमा पुग्न सकिन्छ कि सकिँदैन भनेर सबैको मनमा चासो उब्जिएको देखिन्छ । तर, एकहप्ते निषेधाज्ञाका रुपमा किस्ता–किस्तामा निषेधात्रा थपरिहेको सरकारले नेपालीहरुको मुख्य पर्वहरुलाई लक्षित गरि कुनै मार्गचित्र बनाउन सकेको छैन् । यसले पनि यातायात व्यवसायीहरु निराश र आक्रोशित बन्दै गएका छन् । जसका कारण यसपािल दशैंमा बस चढेर गाउँ जाने धेरै सपना पूरा नहुन सक्ने सम्भावना बढ्दै गएको छ ।

सरकारले हवाई यातायात अबको ५ दिनमा संचालनमा ल्याउने तयारी गरेपनि लामो दूरीका सार्वजनिक यातायात संचालनबारे सरकार मौन देखिएको छ । करिव ३ महिना बढी चलेको लकडाउन र त्यसपछि लागु भएको निषेधाज्ञाका कारण अर्बौं लगानी रहेको सार्वजनिक यातायात क्षेत्र धराशायी भएको व्यवासायीहरु बताउँछन् ।

पछिल्लो ५ महिनादेखि आफ्ना गाडीहरु ग्यारेजमै थन्किनुपर्दा फेरी ती गाडीहरुलाई निकालेर दशैंको समयमा सहज संचालन गर्न धेरै कठिनाई हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा यातायात क्षेत्रलाई सबैभन्दा बढी प्रभावित क्षेत्र उल्लेख गरिएपनि पुनर्कर्जा दिने कार्यविधिमा भने मध्यम क्षेत्रमा राखिएपछि व्यवसायी आक्रोशित भएको उनको भनाई छ ।

पछिल्लो समय धरापमा परेको व्यवसायलाई उकास्न सरकारले पुनर्कर्जाको व्यवस्था नगर्दा र बैंकले लिने आफ्नो किस्ता, बीमा कम्पनीले लिने बीमाशुल्क नछोड्दा व्यवसाय नै धराप भएको उनले बताए । यसअघिका बर्षहरुमा दशैं आउनु एक महिनाअगावै अग्रिम टिकट बुकिङ सुरु गर्ने सार्वजनिक यातायात व्यवसायीहरु यो बर्ष भने त्यो सम्भव नै नहुने बताउँछन् । ‘पछिल्लो ५ महिनादेखि हाम्रा गाडीहरु ग्यारेजमा थन्किदा हाम्रा गाडीका पार्टपुर्जाहरु कामै नलाग्ने भएका छन्,’ उनले भने, ‘यस्तो बेलामा सरकारले साथ नदिए हाम्रा गाडीहरु संचालनमा आउँदैनन र अग्रिम बुकिङ खोल्ने कुरा त सोच्नै सकिने अवस्था छैन ।’

यातायात व्यवस्था विभाग र सरकारी निकायले पनि लामो दुरीका सार्वजनिक यातायात संचालनको कार्यविधिसमेत बनाएको छैन । पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढिरहँदा यसबारे अझै नसोचिएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । उनका अनुसार संक्रमणको प्रकोप र निषेधाज्ञासमेत थपिएकाले कहिलेसम्म यस्तो हुने हो भनेर भन्न सकिने अवस्था छैन् ।

तर, आगामी १७ गते निषेधाज्ञा सकिएपछि यसको विषयमा व्यवसायीसँग बसेर विस्तृत छलफल गरिने उनले बताए । हाल काठमाडौं उपत्यका लगायत देशका ५० बढी जिल्लामा निषेधाज्ञा लागु भएसँगै छोटो दूरीका सार्वजनिक यातायात पनि प्रभावित भएका छन् । तर, लामो दूरीका सार्वजनिक यातायात अर्थात बसहरु पूर्ण रुपमा खिया लागेर क्षति भएको अवस्थामा रहेका छन् । जसलाई रिभाईभ गरेर संचालन गर्न सरकारले साथ दिएमा पनि कम्तिमा २ महिना अझै लाग्ने व्यवसायीहरु बताउँछन् । यसैले यो दशैंमा बस चढेर शहरबाट गाउँ जान पाईन्छ भन्ने सोच पनि राख्न नसकिने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्