Logo

जापानमा नयाँ गाडीको बिक्रीमा कमी : टोयटा फाइदामा, निशान र होन्डालाई धक्का

जापानमा नयाँ गाडीको बिक्रीमा कमी : टोयटा फाइदामा, निशान र होन्डालाई धक्का



टोकियो । सन् २०१९ मा जापानमा सवारी साधन विक्री दर तीन वर्ष यता पहिलो पटक घटेको जापानी उद्योगहरूको समूहले सोमबार जानकारी गराएका छन् ।

गाडीको बिक्रीमा कमी आउनुलाई जापानमा सन् २०१९ मा भोग्नु परेका प्राकृतिक प्रकोप र उपभोक्ता करमा भएको वृद्धि जिम्मेवार रहेको भएपनि कारको बिक्री दरमा सामान्य कमी मात्र आएको उक्त समूहले बताएको छ ।

‘जापान अटोमोबाइल डिलर्स एसोसियसन’का अनुसार गत वर्ष जापानले कुल ५१ लाख ९५ हजार २१६ नयाँ कार विक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले कमी हो ।

समूहले दिएको तथ्याङ्कमा जापानको निसान कम्पनीबाट उत्पादित सवारी साधनको बिक्रीमा सबैभन्दा बढी न्यूनता देखिएको अर्थात् यस वर्ष निसानका उत्पादनमा १.८ प्रतिशतले कमी आएको छ ।

निसानले यस वर्ष कुल तीन लाख ६७ हजार ५१४ कार बिक्री गरेको थियो । कम्पनीको प्रमुख नै रहेका समय निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई सन् २०१८ को नोभेम्बरमा पक्राउ गरिएपछि यस कम्पनीले आफ्नो बजारलाई कायम राख्न नसकेको बताइने गरेको छ ।

गोउन पक्राउ परेपछि कम्पनीको व्यवस्थापनमा नै केही समय अस्तव्यस्तता देखिएको थियो भने अर्को तर्फ कम्पनीले आफ्नो बजारलाई कायम राख्न आफ्ना उत्पादनमा मूल्य घटाएको थियो । तर यसको प्रभाब बजारमा नकारात्मक रह्यो ।

जापानको अर्को ठूलो सवारी साधन कम्पनी टोयटा मोटर्स कर्पोरेसनले भने आफ्नो बिक्रीलाई २.७ प्रतिशतले वृद्धि गर्न सफल रहेको थियो ।

टोयटाले गत वर्ष एक लाख ५१ हजार ७४१ सवारी साधन बिक्री गरेको थियो । त्यस्तै होन्डा मोटर्सले सन् २०१९ मा कुल तीन लाख ५७ हजार २४२ कार बिक्री गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले कमी हो ।

त्यसैगरी, ६६० इन्जिन क्षमतासम्म भएका साना गाडीको बिक्री ०.७ प्रतिशतले घटेको र कुल एक लाख ९१ हजार ३४६ कार बिक्री भएको छ । जापानमा विगत वर्षहरूमासवारी साधनको उत्पादन तथा बिक्रीदर बढ्दो अवस्थामा रहेको थियो तर यसमा गत वर्ष एक्कासी कमी देखिएको जापान हल्का सवारी साधन तथा मोटर्स एसोसिएसनले बताएको छ ।

‘सेप्टेम्बर र अक्टुबरमा जापानले भोगेका श्रृङ्खलावद्ध प्राकृतिक विपत (आँधी)ले सवारी साधनको बजारलाई प्रभावित तुल्याएको हो,’ एसोसिएसनका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग बताए ।

उनले भने, ‘जापानमा गत वर्षको अक्टोबर १ देखि उपभोक्ता करलाई आठ प्रतिशतबाट १० प्रतिशत बनाइएको थियो र यो पनि सवारी साधनको बजार प्रभावित पार्ने एउटा माध्यम बन्नपुग्यो ।’ रासस

प्रतिक्रिया दिनुहोस्