Logo

एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता

एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता



काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।

पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याएको जानकारी दिए । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुने उनको दाबी छ ।

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो । जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ किलोवाटहावरको ब्याट्रि र ३१.२६ किलोवाटको मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि आईपी६७ रेटेड ब्याट्रि, डवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ ।

सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन् । एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ । एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ । हाइ भोल्टेज ब्याट्रिमा एक लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१ किलोवाटहावर र ९९ किलोवाटको मोटर रहेको छ । एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ किलोवाटहावर र १५० किलोवाटको मोटर रहेको छ । एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो । जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।

एमजि ४ इभिले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजि ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै यात्रुहरुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु रहेका छन् ।

त्यस्तै एमजि ४ इभिको लागि हाइ भोल्टेज ब्याट्रिमा एक लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ । हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ । एमजि ४ कम्फर्ट इभिको शुरुवाती मुल्य ४१ लाख ४९ हजार रहेको छ भने एमजि लक्जरी इभिको शुरुवाती मुल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ । एमजिका यी दुवै इभिमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् । यी दुवैमा एमजिले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL