Logo

घट्यो गाडीभाडा, अब काठमाडौंमा गाडी चढ्दा ३.२६ प्रतिशत कम भाडा तिरे हुने

घट्यो गाडीभाडा, अब काठमाडौंमा गाडी चढ्दा ३.२६ प्रतिशत कम भाडा तिरे हुने



काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौलगायत प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको हो ।

मन्त्रालयका अनुसार अव बागमती प्रदेशभित्र चल्ने मालवाहक सवारीसाधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यस्तै प्रदेशभित्रै अन्तरजिल्ला चल्ने लामो रुटका सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर भने २.३० प्रतिशतले घटेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए । उनका अनुसार काठमाडौलगायत प्रदेशभित्रका ठुला सहरभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा भने अब ३.२६ प्रतिशतले घटेको हो ।

नेपाल आयल निगमले यसअघि असार १९ गते डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ५÷५ रुपैयाँले घटाएर क्रमशः १ सय ५० र १ सय ७० रुपैयाँ कायम गरेको थियो । त्यसबेला बागमति प्रदेश सरकार र संघीय सरकारले पनि भाडादर घटाएका थिएनन् । पुनः तेलको मूल्य घटेर करिव १५ दिनकै अन्तरालमा डिजेलको मूल्य प्रतिलिटर ९ रुपैयाँले घटेपछि संघीय सरकारले सार्वजनिक यातायातको भाडादर ३.०९ प्रतिशतले घटाएको थियो । त्यसैको बलस्वरुप प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको छ ।

यसको विस्तृत सूचना आजै राजपत्रमा प्रकाशित गर्ने प्रदेश मन्त्रालयले जानकारी दिएको छ । यसअघि बागमती प्रदेश सरकारले गएको जेठ ११ गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै साविकको तुलनामा भाडादर समायोजन गरेको थियो । जसमा हालसम्म लिईँदै आएको २० रुपैयाँको १९ रुपैयाँ, २७ रुपैयाँको २५ रुपैयाँ, ३२ रुपैयाँको ३० रुपैयाँ र ३५ रुपैयाँको ३२ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्