Logo

तोकियो सर्वोत्तम सिमेन्टको आईपीओको आशय मूल्य, सर्वसाधारणलाई प्रतिकित्ता ५४० कि ८१० ?

तोकियो सर्वोत्तम सिमेन्टको आईपीओको आशय मूल्य, सर्वसाधारणलाई प्रतिकित्ता ५४० कि ८१० ?



काठमाडौं । पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट सर्वासाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको आशय मूल्य तोकिएको छ । कम्पनीका अनुसार उक्त सेयरको प्रतिकित्ता आशय मूल्य ७५० रुपैयाँ तोकिएको हो ।

अण्डरराईटर कम्पनीहरुले तय गरेको मूल्य अनुसार कम्पनीले आईपीओको आशय मूल्य तोकेको हो । हाल आशय मूल्य तोकिएको र आबका दिनमा बिक्री प्रबन्धक नियुक्त गरेर आर्ईपीओ बिक्री खुला गरिने कम्पनीका संचालक विष्णु न्यौपानेले जानकारी दिए । ‘हामी अब बिक्री प्रबन्धक नियुक्त गरेर आशय मूल्य सहित थप प्रक्रिया अधि बढाउन धितोपत्र बोर्डमा आवेदन दिनेछौं,’ न्यौपानेले भने, ‘सम्भवत अबको १ महिनाभित्रै कम्पनीले आईपीओ बिक्रीमा ल्याउने छ ।’

कम्पनीले तोकेको आशय मूल्यमा योग्य संस्थागत लगानीकर्ताले विडिङ गरेर ‘कटअफ प्राईस’ तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य तय गरिने छ । बुक विल्डिङ प्रणाली अनुसार धितोपत्र बोर्डमा सूचिकृत योग्य संस्थागत लगानीकर्ताले आशय मूल्यको २० प्रतिशतसम्म तल्लो वा माथिल्लो सिमासम्ममा विडिङ गरेर मूल्य तय गर्न सक्नेछन् । त्यसरी तोकिएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारण लगानीकर्ताले सर्वोत्तम सिमेन्टको आईपीओ आउनेछन् ।

यसरी मूल्य तोकिदा संस्थागत लगानीकर्ताले आशय मूल्यको तल्लो सिमा प्रतिकित्ता ६ सय र माथिल्लो सिमा प्रतिकित्ता मूल्य ९ सय सम्ममा मूल्य तय गर्न सक्नेछन् । तर सर्वसाधारणल लगानीकर्ताले उक्त मूल्य मूल्यमा १० प्रतिशत कम अर्थात तल्लो सिमामा प्रतिकित्ता ५४० र माथिल्लो सिमामा प्रतिकित्ता ८१० रुपैयाँसम्ममा सर्वोत्तमको आईपीओ खरिद गर्न पाउनेछन् ।

कम्पनीले कुल ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता संस्थापक लगानीकर्ताका लागि, ८ लाख कित्ता स्थानीय जिल्लावासीका लागि, ३ लाख कित्ता कर्मचारी र बाँकी २५ लाख कित्ता सर्वसाधाणलाई बिक्री गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । साथै कम्पनीले आईपीओ जारी पश्चात आफ्नो उत्पादन क्षमता समेत दोब्बरले बढाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL