Logo

लगानीकर्ताको सामाजिक संजाल केन्द्रित आश्वासनले थेगिएन नेप्सेको पहिरो, एकैदिन ८० अंकले घट्यो

लगानीकर्ताको सामाजिक संजाल केन्द्रित आश्वासनले थेगिएन नेप्सेको पहिरो, एकैदिन ८० अंकले घट्यो



काठमाडौं । आईतबार नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्सेमा लगानीकर्ताले सामाजिक संजालमार्फत लगानीकर्तालाई संयमित भएर आफुसँग भएको सेयर घट्दो बजारमा बिक्री नगर्न आग्रह गरेपनि ठिक त्यसको विपरित बजार घट्न पुगेको छ ।

लगानीकर्ताहरुले सामाजिक संजालमार्फत पूँजी बजारमा धैर्यता नगुमाउन आग्रह गरेपनि आईतबार बजार बन्द हुँदासम्म सेयर बजार ३ प्रतिशतभन्दा माथि अर्थात ७९ अंकले घट्न पुगेको छ । पछिल्लो समय नियामक निकायले दरिलो रुपमा बजारमा प्रवेश गरेको बैंक इन्स्योरेन्स जस्ता संस्थापक लगानीकर्तालाई सेयर बजारमा लगानी नबढाउन सचेत गराउँदै आन्तिरक रुपमा निर्देशन दिएसँगै बजारले ओरालो यात्रा तय गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत बैंकहरुको सेयर बजारमा भईरहेको लगानीको विषयमा केही नबोले पनि पछिल्लो समय बैंकजसो बैंक वित्तीय संस्थाको सेयरमा भैरहेको लगानीको विस्तृत विवरण माग गर्दै थप लगानी नबढाउन आन्तरिक रुपमा सचेत गराउँदै आएको छ । यसैगरी गतहप्तामात्रै बीमा कम्पनीहरुले आफ्नो लगानीलाई तोकिएको क्षेत्रमा बिकेन्द्रिकरण नगरी बैंकको मुद्दती निक्षेप राख्ने तथा सेयर बजारमा मात्रै लगानी गरेको भन्दै उत्पादनशिल क्षेत्रमा लगानी बीमा समितिले निर्देशन जारी गरेको छ ।

पछिल्लो समय औद्योगिक क्षेत्रमा कर्जाको माग बढी भएसँगै बैंक तथा वित्तीय संस्थाहरु समेत सेयरकर्जा तथा सेयर लगानीभन्दा त्यसतर्फ केन्द्रित हुन थालेपछि कोरोनाका समयमा बजारमा प्रदेश गरेका लगानीकर्ता समेत बाहिरिन थालेका सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । जसका कारण विगत २ हप्तादेखि नेप्सेले ओरालो यात्रा तय गर्दै आएको छ । सोही अनुरुप आईतबार नेप्से परिसुचक ७९.७४ अंकले घट्न पुग्यो । बजारमा होटल तथा पर्यटन बाहेकका सबै समुहका परिसुचक घटेका छन् ।

बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ६२४ अंकले घट्न पुगेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा समेत १७८ अंकको गिरावट आएको छ । यसैगरी लामो समयदेखि उकालो यात्रा तय गरेको लघुवित्त कम्पनीको सेयरमा १४१ अंकको गिरावट आउँदा बजारमा बढी हिस्सा ओगटेको बैंकिङ समुहको परिसचुकमा पनि ५४ अंकले घट्न पुगेको छ । यसैगरी विकास बैंक समुहको परिसुचक ७५ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुकमा १९८ अंकको गिरावट आएको छ । आईतबार बजारमा कुल ८ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २०७ कम्पनीको १ करोड ६० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL