काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा मागभन्दा करिव साढे ६२ गुणा बढी आवेदन परेको छ । कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) अन्तिम दिनसम्म अर्थात बुधबारसम्म १५ लाख १९ हजारभन्दा बढी लगानीकर्ताले आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि कुल ३ लाख ७५ हजार कित्ता सेयर अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो । तर उक्त सेयरमा २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार कित्ता सेयर माग गर्दै आवेदन परेको छ ।
कम्पनीले जारी गरेको सेयरमा १० कित्ते नीति अनुसार गोलाप्रथा बिधी अनुसार ३७ हजार ५ सय लगानीकर्ताले मात्र सेयर पाउने छन् । जस अनुसार आवेदन दिएकामध्ये १४ लाख ८१ हजार ६ सय लगानीकर्ता हातखाली हुनेछन् ।
महिलाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारमा बिक्रीमा ल्याएको थियो ।