काठमाडौं । चन्द्रागिरि हिल्सको सर्वसाधारण सेयरमा आवेदन दिने १० लाख ७१ हजार जना हातखाली भएका छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार उक्त सेयरमा आवेदन दिने १० लाख ७१ हजार ५ सय १५ जना हातखाली भएका हुन् ।
आज विक्री प्रवन्धक ग्लोबल आईएमई क्याटिलको केन्द्रिय कार्यालयमा भएको बाँडफाँटमा १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । यस्तै त्यसबाट बाँकी रहेको २ कित्ता सेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ। अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएका थिए । त्यस मध्ये ५ हजार ८ सय ३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार १ सय १५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।