Logo

कोरोना कहरमा सबैतिर भद्रगोल हुँदा यातायात व्यवस्था विभागलाई हाईसन्चो, नयाँ लाइसेन्सको काम प्रदेशलाई दिएर पन्छियो

कोरोना कहरमा सबैतिर भद्रगोल हुँदा यातायात व्यवस्था विभागलाई हाईसन्चो, नयाँ लाइसेन्सको काम प्रदेशलाई दिएर पन्छियो



काठमाडौं । विश्वभर फैलिएको कोरोना कहरको असर सर्वत्र छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न क्षेत्रमा यसको असर परेको छ । तर देशभरीको यातायात क्षेत्रको नियमकिय निकाय यातायात व्यवस्था विभागलाई भने हाईसन्चो जस्तै भएको छ ।

विश्वभर कोरोना भाईरस फैलिएको करिव १ बर्ष पुग्न लाग्यो तर नेपालमा भने यसको असर ९ महिनादेखि जारी छ । चैत ११ गतेदेखि लगाईएको लकडाउनका कारण विभिन्न क्षेत्रहरु बन्द भए । सोहीअनुसार यातायात व्यवस्था विभागले दिने सम्पुर्ण सेवाहरु पनि बन्द भए । सोही मौकामा विभागले त्यसअघि छाप्न बाँकी रहेका ७ देखि ८ लाख थान सवारी चालक अनुमतिपत्र (लाईसेन्स) छाप्यो । तर त्यसयता विभागलाई लाईसेन्स छपाईको काम आएको छैन । अर्थात लाईसेन्सको अनलाईन आवेदन खुलाउने र ट्रायल दिने जिम्मा हाल प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्रालयमा गएको छ ।

उक्त मन्त्रालयहरुबाट लाईसेन्सको आवेदन र ट्रायल खुल्ने निर्णय नभएसम्म विभागले लाईसेन्स छपाईको काम गर्नुपर्ने छैन । नयाँ लाईसेन्सको लिखित तथा ट्रायल परीक्षा प्रदेशले गरेपनि त्यसको समन्वय भने विभागले गर्नुपर्छ । तर अहिले विभाग एउटा सूचना निकालेर समन्वयको कामबाट समेत पन्छिएको छ ।

लकडाउनअघि दैनिक ८ देखि १० हजारको हाराहारीमा लाईसेन्सको आवेदन आउने गरेका थिए । सोहीअनुसार विभागले मागअनुसारको लाईसेन्स आपुर्ति गर्न नसक्दा दैनिकजसो आलोचना खेपिरहेको विभागलाई हाल हाईसन्चोजस्तै भएको छ । लकडाउनपछि सवारी लाईसेन्स छपाई र ट्रायल पनि नहुने भएपछि दैनिकजसो सयौं सेवाग्राहीहरुले विभागका फोन गरेरै सोध्ने गरेका थिए ।

सोही झन्झटलाई पनि पार लगाउन विभागले प्रदेशका मन्त्रालयहरुका सम्बन्धीत व्यक्तिको नम्बर उपलब्ध गराई उक्त झन्झटबाटसमेत मुक्त भएको छ । केहीदिन अघिसम्म धेरैजसो सेवाग्राहीले लाईसेन्सका यावत विषयहरुका बारेमा फोन गरेर झमेला गरेपछि सेवाग्राहीले फोन पनि प्रदेशअन्तर्गतका मन्त्रालयमै गरुन भनेर सूचना जारी गरेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसाल बताउँछन् ।

उनका अनुसार विभागमा धेरैजसो सेवाग्राहीले फोन गरेर बुझ्न थालेपछि सम्बन्धित निकायमै बुझ्नका लागि सूचना जारी गरिएको हो । हाल विभागले सबैजसो लाईसेन्स छापेर देशभरका कार्यालयहरुमा पठाएको छ । तर कार्यालयमा दिन बाँकी लाईसेन्सहरु भने जम्मा ५ देखि ६ हजारसम्म मात्रै विभागमा रहेको सूचना अधिकारी भुसालले बताए । ‘हामीले आवेदन आएका जति लाईसेन्सहरु छापेर कार्यालयहरुमा पठाईसकेका छौं,’ उनले भने, ‘अब कार्यालयहरुले भने वितरण गर्न बाँकी होला ।’ लकडाउनअघि विभागमा ७ देखि ८ लाख ओटा लाईसेन्स छाप्न बाँकी थिए ।

प्रतिक्रिया दिनुहोस्