Logo

‘इन्फर्मेशन ट्रयाप’ को मारमा सेयर बजार, यसरी फस्दैछन् लगानीकर्ता

‘इन्फर्मेशन ट्रयाप’ को मारमा सेयर बजार, यसरी फस्दैछन् लगानीकर्ता



काठमाडौं । इन्साईडर ट्रेडिङ, सेयर कर्नरिङ, पम्प एण्ड डम्पजस्ता गतिविधिबाट जकडिएको नेपाली पूँजी बजारमा अहिले ‘इन्फर्मेशन ट्रयाप’ अर्थात (सुचनाको पासो) गरी चलखेल गर्ने क्रम बढेको छ । स्वार्थ केन्द्रित लगानीकर्ताले आफु अनुकुलमा सुचनाहरु विभिन्न माध्यमबाट बजारमा ल्याउने र सोही आधारमा सम्बद्ध कम्पनीको सेयर मुल्य बढाएर बजारबाट कमाउने क्रम बढेको छ ।

आफुले लगानी गर्ने कम्पनीको वित्तीय विश्लेषण गरेर भन्दा पनि हल्लाको भरमा लगानी गर्दै आएका लगानीकर्ताहरुलाई स्वार्थ केन्द्रित समुहले आफु अनुकुलका कम्पनीले उच्च बोनस वा कुनै अर्को संस्थासँग मर्जर गरेर राम्रो प्रतिफल दिँदै छ भनेर बजारमा सूचना प्रबाह गरेर सेयर मूल्य बढाएर आफुसँग भएको सेयर बिक्री गरेर निस्कने क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

विशेषगरी विभिन्न सामाजिक संजाल तथा मिडिया नै प्रयोग गरेर आफ्नो स्वार्थ अनुकुलका कम्पनीले ७० प्रतिशत बोनस दिँदैछ, शतप्रति हकप्रद दिँदैछ, ठूला वा राम्रो कम्पनीसँग मर्जर वा एक्विजिशनमा जाँदैछ भने सर्वसाधारण लगानीकर्तालाई सूचनाको पासोमा पारेर सेयर मूल्य बढाउने गरेको एक लगानीकर्ताले बताए । ‘अहिले बजारमा केही ठूला तथा स्वार्थ केन्द्रति लगानीकर्ताहरु आम लगानीकर्तालाई गलत सूचनाको व्यापार गर्दै ट्रर्यापमा पार्ने काम गर्दै आएका छन्,’ एक लगानीकर्ताले भने, ‘जसका कारण पछिल्लो समय समग्र बजार बढ्नु भन्दा पनि त्यस्ता लगानीकर्ता केन्द्रित सिमित कम्पनीको सेयर मूल्य मात्र बढिरहेको छ, जसले गर्दा लगानीकर्ताहरु गतल सूचनाको पासोमा परेर फसिरहेका छन् ।’

केही समयदेखि ठूला लगानीकर्ताले मूल्यको ट्रर्यापमा पारेर आम लगानीकर्तालाई दोधारमा पार्दे आएकोमा अहिले इन्फर्मेशन ट्रर्यापमा परेर फसाउने काम भैरहेको समेत ती लागनीकर्ताले जानकारी दिए । ‘इन्फर्मेशन ट्रर्याम इन्साईडर ट्रेडिङ वा सेयर कर्नरिङभन्दा डरलाग्दो भएर आएको छ,’ ती लगानीकर्ताले भने, ‘इन्साईडर ट्रडिङमा त लगानीकर्ताले कुनै पनि सूचिकृत कम्पनीको सही सुचनाको आधारमा सेयर खरिदबिक्री गरेर कमाउथे भने इन्फर्मेशन ट्रर्यापमा हुँदै भएको विषयलाई आफुखुशी विभिन्न माध्यमबाट अनावश्यक हल्ला फैल्याएर लगानीकर्ता पासोमा पार्ने काम भैरहेको छ ।’

नियामक निकाय मुशर्दक बन्दा लगानीकर्ताहरु पटक पटक समस्या झेल्नु परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । पछिल्लो गलत सूचनाको पासोमा परेका लगानीकर्ताहरु फस्ने क्रम उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL