Logo

२० खर्बको पूँजी बजार जोखिममा, गैरजिम्मेवार ब्रोकर र मुकदर्शक नियामक

२० खर्बको पूँजी बजार जोखिममा, गैरजिम्मेवार ब्रोकर र मुकदर्शक नियामक



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को सिस्टमका कारण लगानीकर्ताहरुको लगानी जोमिखमा पर्ने भएको छ । २० खर्ब बराबरको पूँजीकरण रहेको नेपाली सेयर बजारमा सेयर कारोबारको जिम्मा लिएको नेप्सेको सिस्टममा पटक पटक समस्या आउँदा लगानी जोखिममा पर्ने देखिएको हो ।

नेप्सेको सिस्टममा समस्या आउँदा बिक्रीका लागि अर्डरमै नराखेको सेयर बिक्री हुने तथा मागभन्दा बढी खरिद हुने समस्या लगानीकर्ताले भोग्दै आएका छन् । जसका कारण लगानीकर्ताको सम्पत्ति जोखिममा परेको छ भने यसले क्लोजआउट लगायतका समस्याहरु देखिएका छन् ।

नेप्सेको अनलाईन प्रणालीमा पटक पटक समस्या अउँदा यसले व्यवहारिक समस्या मात्र नभई लगानीनै ठूलो जोखिममा रहेको एक लगानीकर्ताले बताए । ‘कहिले सिस्टमबाट खाता रहेको सेयर हराउँछ भने कहिले खरिद वा बिक्री नै नभएको सेयर पनि खरिदबिक्री भएको भने नोटिस आईरहेको हुन्छ,’ ती लगानीकर्ताले भने, ‘यदि सधै नेप्सेको सिस्टमले काम गर्ने हो र ब्रोकरहरु लगानीकर्ताहरुप्रति जिम्मेवार नहुने हो भने अबका दिनमा डिम्याट खातामा भएको सेयर पनि हराउने अवस्था आउँनेछ ।’

पछिल्लो सयम नेप्सेको पुरै सिस्टममा समस्या आउनेभन्दा पनि सिमित व्यक्तिको स्वार्थमा समस्या देखाएर समेत सेयर कारोबार गर्ने काम भैरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले धेरैजसो ब्रोकर कहाँ पटक पटक सिस्टम नचलेर कारोबार गर्न नसकिएको भन्दै गुनासो गरिरहेको छन, तर सोही समयमा कतिपय ब्रोकरकहाँ सहज रुपमा सेयर खरिदबिक्री भैरहेको छ,’ एक लगानीकर्ताले भने, ‘यो भनेको १६ लाख लगानीकर्ताको सम्पत्ति माथि खेलबाड गरेर सिमित व्यक्तिले कमाउने खेल हो ।’

अनलाईन प्रणाली सुरु गरदेखिनै समस्या देखिएको नेप्सेमा हालसम्म कुनै सुधार हुन सकेको छैन । पटक पटक समस्या आउँदा पनि यस विषयमा ब्रोकरहरु थप लाचार र स्वार्थ केन्द्रिक हुँदा लगानीकर्ताले जोखिम मोल्नु परेको हो । ‘सुरु देखिनै नेप्सेको अनलाईन प्रणालीमा समस्या आइरहेको छ तर अहिलेसम्म लगानीकर्ताको सेयर खरिदबिक्रीको जिम्मा लिएको ब्रोकरले कुनै चासो देखाएको छैन,’ ती लगानीकर्ताले भने, ‘सेयर कारोबारको नाममा ठूलो रकम कमिशनबापत लिने तर तिनै लगानीकर्तालाई सुविधा दिनका लागि कुनै रकम खर्च नगर्ने परिपाटीका कारण हामीले पटक पटक समस्या भोग्दै आएका छौं ।’

ब्रोकरहरु आफैले अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाईन सिस्टम बनाएर कार्यान्यनमा ल्याउन सक्ने भएपनि हालसम्म उनीहरु पटक पटक समस्या आईरहने नेप्सेकै अनलाईंमा भर पर्दै आएका छन् । हाल संचालनमा रहेका ५० ओटा ब्रोकरले १ देखि २ हप्ताको आम्दानी लगानी गर्दा निर्माण हुने सो अनलाईन प्रणाली तथा डाटा सेन्टरका लागि उनीहरु कुनै रकम खर्च गर्न नचाहाँदा त्यसको मार लगानीकर्तालाई पर्न गएको छ ।

यसैगरी नियामक निकाय धितोपत्र बोर्ड मुकर्दक भएकै कारण लगानीकर्ताले आफ्नो सम्पत्ति माथि जोखिम मोलिरहनु परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘नेप्सेले काम गर्न नसकेमा उसमाथि निर्देशन दिने वा एक्सन लिने काम नियामक निकाय धितोपत्र बोर्डको हो,’ एक लगानीकर्ताले भने, ‘तर लामो समयसम्म यतिधेरै समस्या आएर २० खर्बको सम्पत्ति जोखिममा पर्दा पनि बोर्डले कुनै चासो देखाएको छैन ।’

तर ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाट भने अहिले नेप्सेका कारण ब्रोकर तथा लगानीकर्ताले समस्या भोग्नु परेको र यसको समाधानका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन् । ‘पहिला नेप्सेले ब्रोकरका कारण समस्या आएको भन्दै पन्छिदै आएको थियो तर अहिले समस्या आउँदा नेप्सेले सुचना नै निकाले क्षमा माग्न थालेको छ,’ उनले भने, ‘क्षमा माग्नु नै समस्याको समाधान होइन तसर्थ हामीहरु नयाँ बिकल्पको खोजीमा छौं ।’

नेप्सेको सिस्टमले पटक पटक समस्या दिएकै कारण नयाँ अनलाईन सिस्टम तथा सोही अनुरुप डाटा बैंक स्थापनाको तयारी गरिएको समेत उनले जानकारी दिए । ‘अबका दिनमा ब्रोकरहरुकै समभागितामा अन्तरराष्ट्रिय स्तरको टेस्टेड ट्रेड म्यानेजमेन्ट सिस्टम र डाटा बैंक स्थापना गर्नेछौं,’ उनले भने, ‘ब्रोकरले उक्त सिस्टम संचालनमा ल्याएपछि अहिलेको जस्तो समस्या भोग्नुपर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL