Logo

बजारमा सेयर कर्नरिङको असर, फस्दै एनआरएनका लगानीकर्ता

बजारमा सेयर कर्नरिङको असर, फस्दै एनआरएनका लगानीकर्ता



काठमाडौं । नेपाली सेयर बजारमा सेयर कर्नरिङ, पम्प एण्ड डम्प, इन्साईडर ट्रेडिङ कुनै नौलो कुरा होइन । नियामक निकायले सो विषयमा अनुगमन तथा नियमन गर्न नसक्दा पहुँचवालाहरुले खुलेआम त्यस्ता कार्य गर्दै आएका छन् ।

पछिल्लो समय सीमित केही ठूला लगानीकर्ताको कमाउ धन्दा नै भएको छ पम्प एण्ड डम्प र सेयर कर्नरिङ । कुनै साना कम्पनीको प्राथमिक सेयर सुचिकृत भयो कि अनावश्यक माग देखाएर मूल्य बढाउने अनि आफुले सेयर कर्नरिङ गरिसकेपछि उच्च मूल्य पुर्याएर सक्दो बिक्री गर्ने ।

अहिले त्यसैको मारमा परेका छन् एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ता । अघिल्ला दिनहरुमा बजार ओरालो लाग्दा दैनिक १० प्रतिशतले बढाएको उक्त कम्पनीको सेयर अहिले बजार दोहोरो अंकका बढ्दा पनि सोही अनुपातमा घट्न पुगेको छ ।

सीमित समुहले सेयर कर्नरिङ गर्दै बजार बढाउँदा त्यसको मारमा सोझासाझ तथा साना लगानीकर्ता परेका छन् । सुरुवाती दिनमा उच्च माग देखाएर बढाइएको उक्त कम्पनीको सेयर कर्नरिङ गरेपछि बजार दोहोरो अंकले बढ्दा पनि घटाएर बिक्री गर्न थालेका छन् । सोही अनुसार बुधबार (आज) नेप्से परिसुचक १३ अंकले बढ्दा पनि एनआरएनको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आयो ।

बुधबार दोहोरो अंकले बढेको बजारमा बैंक र विकास बैंक बाहेक अन्य समुहका परिसुचक बढेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा २६७ र जीवन बीमा समुहको परिसुचक १६७ अंकले उकालो लागेका छन् । यसैगरी बजारमा माईक्रोफाइनान्स समुहको परिसुचक ५५ अंकले उकालो लाग्दा ब्यापार ३५ र उत्पादनमुलक समुहको परिसुतक २४ अंकले बढ्न पुगेको छ ।

बजारमा दिनभर २ अर्ब ५६ करोड रुपैयाँको सेयर कोरोबार भएको छ । जसमा १९४ कम्पनीको ५७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भए । दिनभर सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको २२ करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्