Logo

एक व्यक्तिको बर्हिगमनलाई देखाएर १८ लाख लगानीकर्ता माथि खेलबाड, ठेकेदार ब्रोकर र सामाजिक संजालमार्फत ‘इन्साईडर ट्रेडिङ’को काम

एक व्यक्तिको बर्हिगमनलाई देखाएर १८ लाख लगानीकर्ता माथि खेलबाड, ठेकेदार ब्रोकर र सामाजिक संजालमार्फत ‘इन्साईडर ट्रेडिङ’को काम



काठमाडौं । पछिल्लो समय सेयर बजार भन्ने वित्तीकै सधै चर्चामा आईरहेने व्यक्ति हुन अर्थमन्त्री डा.युवराज खतिवडा । उनको पुनर्नियुक्ति वा बर्हिगमनलाई लिएर सेयर बजारमा खेलाडीहरुले बजारमा चलखेल गर्दै आएका छन् ।

आफुसँग भएको सेयर मूल्य बढाउन छ भने तिनै खतिवडा अर्थमन्त्रीबाट हट्ने र मूल्य घटाएर बजारबाट सस्तोमा सेयर उठाउनु छ भने अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता भन्ने जस्ता हल्ला चलाएर बजारमा चलखेल गर्दै आएका छन् । डिम्याट एकाउण्टको हिसाव गर्ने हो भने नेपाली पूँजी बजारमा १८ लाख लगानीकर्ता छन् । जहाँ सबै लगानीकर्ताले स्वतन्त्र रुपमा सेयर खरिदबिक्री गर्न सक्नेछन् । तर, सेयर बजारमा लगानीकर्तालाई स्वतन्त्र कोरोबारभन्दा पनि अर्थमन्त्रीको नाममा बजार घटाउने वा बढाउने चलखेल बढी भएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

अहिलेको अवस्थामा अर्थमन्त्रीको पुनर्नियुक्ति वा बर्हिगमनले सेयर बढ्नु र घट्नुमा कुनै असर पार्दैन । सेयर बजारका नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जले ल्याउने नीति तथा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्थाले बजारमा प्रभाव पार्ने हो । ती निकायहरुले अहिलेको पूँजी बजार सुधारका लागि आवश्यक र बजारलाई सहयोग गर्ने खालका नीति नियम ल्याएका छन् । यस्तो अवस्थामा जो अर्थमन्त्री भएपनि बजारलाई कुनै प्रभाव पार्ने देखिँदैन ।

तर पछिल्लो समय सिमित लगानीकर्ताका समुहले अर्थमन्त्रीको बर्हिगमनलाई देखाएर बजार उचाल्ने अनि पुनः रहने भन्दै अर्को हल्ला चलाएर नव प्रवेसी तथा साना लगानीकर्तालाई फसाउने खेल भैरहेको एक लगानीकर्ताले बताए ।

यसैगरी पछिल्लो समय अर्को डरलाग्दो खेल भनेको फेसबुक लगायत सामाजिक संजालमार्फत हुने इन्साईडर ट्रेडिङ । अहिले सेयर बजारमा चलखेल गर्ने समुहले विभिन्न छदमभेसी नाममा फेसवुक खोल्ने र अनि तिनै नक्कली फेसबुक आईडीबाट कुन कम्पनीले कति लाभांश दिँदै छ, भोलीका दिनमा कुन कम्पनीको सेयर बढ्ने, उक्त सेयर यति कित्ता उठाउँदैछु जस्ता आफ्ना स्वार्थ अनुरुपमा पोस्ट गरेर बजारमा चलखेल गर्दै आएका छन् । ‘अहिले बजारमा ठूला भनिएका लगानीकर्ता तथा नेप्सेमा सुचिकृत कम्पनीका संचालकहरुले नै दर्जनौं नक्कली फेसबुक आईडी बनाएर आफ्ना स्वार्थ अनुरुपका सुचनाहरु फेसवुकका विभिन्न ग्रूपहरुमा पोस्ट गर्दै आएका छन्,’ एक लगानीकर्ताले भने, ‘त्यस्ता लगानीकर्ताले कम्पनीको सुचनाहरु चुहाउनुका साथै आफुसँग भएको सेयर बिक्री गर्नुछ भने बजार बढ्छ वा सम्बन्धित कम्पनी नै तोकेर मूल्य बढ्छ वा घटाउनु छ भने पनि सोही अनुरुपमा सुचनाहरु सामाजिक संजालमार्फत बजारमा फाल्ने गरेका छन् ।’

अहिले पनि बजारमा सम्बन्धित कम्पनीका संचालक तथा माथिल्लो तहका कर्मचारी र मर्चेण्ट बैंकका कर्मचारीले अरुको नामका हकप्रद सेयर ‘रिनाउन्स’ गरेर आफैले लिने गरेका समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै बजारमा एउटै व्यक्तिले १ हजारभन्दा बढी व्यक्तिको नागरिकता संकनल गरेर नक्कली बैंक खाता तथा डिम्याट एकाउण्ट खोलेर समेत प्राथमिक सेयरमा आवेदन दिँदै त्यसमार्फत ठूलो रकम आम्दानी गर्दै आएका छन् । बोर्डले सबैका लागि प्राथमिक सेयर भनेर १० कित्ते नीति ल्याएपनि सिमिति समुहले बोराको बोरा नागरिकता संलकन गरेर बैंक तथा ब्रोकर र मर्चेण्ट बैंकका कर्मचारीसँगको मिलेमत्तो खाता खोलेर आईपीओमा आवेदन दिँदै आएका छन् । तर यस विषयमा पनि धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक मौन नै छ ।

पछिल्लो समय अर्थमन्त्रीको पुनर्नियुक्ती र बर्हिगमनको हल्ला चलाउँदै नेप्सेको सफ्टवेयर नै म्यानुपुलेशन गरेर बजारमा लगानीकर्ता डुवाउने खेल समेत सुरु भएको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले नेप्सेको एउटै सफ्टवेयरमार्फत कुनै ब्रोकर कहाँ खरिदबिक्री अर्डरनै नलिने तर स्वार्थ अनुरुप संचालित भएका ब्रोकरकहाँ सहज रुपमा काम हुने वातावरण समेत भैरहेको छ, पछिल्लो समय बजारमा देखिएको यो सबैभन्दा डरलाग्दो खेल हो ।’

यसैगरी बजारमा लगानीकर्ताले भन्दा पनि ब्रोकर नै व्यापारीको ठेकेदार बनेर सेयर खरिदबिक्री गर्दा बजारमा अनावश्यक उतारचढाव आउने गरेको एक लगानीकर्ता बताए । ‘अहिले ब्रोकरले व्यापारीलाई पहिला नै रिर्टनको फिक्स गरेर त्यस्ता व्यापारीको ठूलो रकम आफैले चालउँदै आएका छन्,’ ती लगानीकर्ताले भने, ‘ब्रोकरले त्यसरी लिएको पैसाले साना पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गरेर सोझासाझा लगानीकर्ता फसाउने काम भैरहेको छ ।’

तर यस्ता विषयमा नियामक निकाय धितोत्रप बोर्डले पनि कुनै चासो देखाएको देखिँदैन । बजारमा खुलेआम इन्साईडर ट्रडिङ भएपनि न त त्यस्को नियमन गरिएको छ न त त्यस्ता कार्यमा संलग्नलाई कारबाही नै गरिएको छ । यदि नियाकम निकायले यस्ता विषयमा बेलैमा नसोच्ने हो भने नेपाली पूँजी बजार जुवाघरभन्दा पनि डरलाग्ने बन्ने खतरामा पुग्ने सम्बद्ध लगानीकर्ताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL