Logo

आईपीओ निष्काशनमा धितोपत्र बोर्डले लगायो रोक, यस्तो छ कारण !

आईपीओ निष्काशनमा धितोपत्र बोर्डले लगायो रोक, यस्तो छ कारण !



काठमाडौं । धितोपत्र बोर्डले सर्वसाधारणका लागि जारी गरिने प्राथमिक सेयर (आईपीओ) निष्काशनमा रोक लगाएको छ । लकडाउनका कारण धेरैजसो लगानीकर्ताहरु सेयर आवेदन दिनबाट वञ्चित हुने बैंकसम्म जाँदा भिडभाड बढी हुने भएकाले निषेधाज्ञा वा लकडाउन रहेसम्मका लागि आईपीओ निष्काशनमा रोक लगाईएको धितोत्रपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

निषेधाज्ञा वा लकडाउन नखुलेसम्मका लागि बोर्डबाट स्वीकृति लिएर हाल सार्वजनिक निष्काशनको चरणमा रहेका कम्पनीहरुलाई उक्त सेयर जारी गर्न रोक लगाइएको हो । ‘हामीले सबै लगानीकर्ताहरुले अनलाईनबाट आईपीओमा आवेदन दिन्छन भन्ने सोचका साथ निषेधाज्ञाको अबधिमा पनि निष्काशन स्वीकृति दिएका थियौं,’ उनले भने, ‘तर निषेधाज्ञाको समयमा पनि हजारौं लगानीकर्ताहरु बैंकमै पुगेर भिडभाड गरेर आवेदन दिएको र जसका कारण कोरोना संक्रमण बढ्ने खतरा भएकाले तत्काललाई आईपीओ निष्काशनमा रोक लगाइएको हो ।’

बोर्डबाट स्वीकृति लिएर हाल केही कम्पनीको सेयर निष्काशनको क्रममा रहेका छन् । तर ती कम्पनीले लकडाउन खुलेपछि मात्रै आइपीओ निष्काशन गर्न पाउने छन् । पछिल्लो समय लगानीकर्ताहरु प्रविधि मैत्री नहुदा समस्या उत्पन्न भएको समेत बोर्डले जानकारी दिएको छ । ‘हामीले सेयर बजारलाई प्रविधिमैत्री बनाएर लगानीकर्तालाई सहज सुविधा दिन नयाँ नयाँ व्यवस्था गरिरहेका छौं,’ ढुंगानाले भने, ‘तर सोही अनुरुप लगानीकर्ताहरु अनलाईन वा प्रविधिमा अभ्यस्त नहुँदा समस्या उत्पन्न भयो ।’ यदि लगानीकर्ताहरुले अनलाईनबाटै आवेदन दिएका भए निषेधाज्ञाको समयमा पनि आईपीओ निष्काशनलाई खुला राख्न सकिने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्