Logo

सेयर बजारमा फेक बैंक एकाउण्ट र डिम्याट खाताको धन्दा, मुकदर्शक बन्दै राष्ट्र बैंक र धितोपत्र बोर्ड

सेयर बजारमा फेक बैंक एकाउण्ट र डिम्याट खाताको धन्दा, मुकदर्शक बन्दै राष्ट्र बैंक र धितोपत्र बोर्ड



काठमाडौं । सर्वसाधारणका लागि जारी गरिने प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि नक्कली बैंक खाता र हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्ने क्रम बढेको पाइएको छ । सुरुवाती दिनमा कुनै व्यक्तिको तीन पुस्ते विवरण वा नागरिकताको आधारमा सेयर आवेदन दिँदै आएका केही समुहहरुले पछिल्लो समय नियामक निकायले कडाई गरेसँगै नक्कली बैंक खाता र डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिने थालेका हुन् ।

केही समय अघिसम्म बोराका बोरा नागरिकता संकलन गरेर आईपीओमा आवेदन दिँदै आएका लगानीकर्ताहरुले पछिल्लो समय सोही नागरिकताको आधारमा आफुखुशी बैंक र डिम्याट खाता खोलेर आवेदन दिन थालेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । कानूनत सम्बन्धित व्यक्ति नै उपस्थित भएर बैंक खाता वा डिम्याट खाता खोल्नु पर्ने प्रावधान छ । तर केही ठूला लगानीकर्ता तथा सिमित समुहले पहुँचका आधारमा बैंक र ब्रोकरका कर्मचारीसँगको मिलेमत्तोमा सम्बन्धित व्यक्ति उपस्थित नभइकनै खाता खोलिदिएपछि आईपीओ भर्नकै लागि फेक बैंक एकाउन्ट र डिम्याट खाता खोल्ने क्रम बढेको हो ।

अहिले सेयर भर्नकै लागि एउटै व्यक्तिले सयौं जनाको नागरिकता संकलन गरेर बैंक खाता र डिम्याट एकाउण्ट खोलेको पाइएको सम्बद्ध निकायले जानकारी दिएको छ । ‘पहिला बोराका बोरा नागरिकताको फोटोकपी संकलन गरेर एउटै व्यक्तिले हजारौं जनाको नाममा आईपीओ भर्दै आएका थिए,’ एक लगानीकर्ताले भने, ‘अहिले नियामकले त्यसरी सेयर आवेदन दिन बन्देज लगाएसँगै तिनै नागरिकताको फोटोकपीको आधारमा बैंक र ब्रोकर तथा मर्चेन्ट बैंकरका कर्मचारीसँगको मिलेमत्तोमा बैंक र डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिन थालेका छन् ।’ पछिल्लो समय प्राथमिक सेयर खुलेका कम्पनीको आईपीओमा एउटै व्यक्तिले गैरकानूनी रुपमा खाता खोलेर २/३ सय वटाभन्दा बढी आवेदन दिएको ती लगानीकर्ताले जानकारी दिए । साथै त्यसरी नक्कली बैंक खाता र डिम्याट खाता खोलेर आईपीओ भर्ने समुहले कर्मचारी नै राखेर आईपीओमा आवेदन दिने गरेको समेत उनको भनाई थियो ।

सामान्यतय बैक खाता वा डिम्याट खाता खोल्नका लागि सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने भन्दै अन्य व्यक्तिले लगेको फर्मको आधारमा त्यस्ता खाता खोल्न बैंक तथा ब्रोकरले मान्दैनन् । तर आईपीओको धन्दा चलाउँदै आएको त्यस्ता समुहले बैंक, ब्रोकर तथा मर्चेन्ट बैंकरका कर्मचारीसँगको मिलेमत्तोमा सम्बन्धित व्यक्ति नै उपस्थित नभईकनै खाता खोल्ने गरेका छन् ।

त्यसरी खाता खोलेर आईपीओको गैरकानूनी धन्दा चलाउँदै आएका व्यक्तिले धेरैजसो खातामा एउटै हस्ताक्षर राख्ने र त्यस्ता व्यक्तिको खाताको चेक समेत आफैले लिएर संचालन गर्दै आएका छन् । त्यसरी खाता खोल्नलाई रोक्नका लागि नियामक निकायहरु नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले नियमन गर्नुपर्ने भएपनि हालसम्म उक्त विषयमा कुनै चासो नदिएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

तर सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने आफुहरुकहाँ सो सम्बन्धमा गुनासो आएको त्यसलाई नियम गर्ने तयारी गरिएको थालिएको जानकारी दिएको छ । अहिले एउटा व्यक्तिको नाममा अर्के व्यक्तिले गैरकानूनी रुपमा डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिएको गुनासो आफुकहाँ आएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘हामी कहाँ सम्बन्धित व्यक्तिलाई थाहै नदिई डिम्याट खाता खोलेर आईपीओमा आवेदन दिने गरेको गुनासाहरु आएका छन्,’ उनले भने, ‘सोही कार्यलाई रोक्न हामीले नो योर कस्टुमर (केवाईसी)लाई डिजिटाईजेशमा लैजादौं छौ त्यसपछि त्यस्ता गैरकानूनी क्रियाकलाप रोकिने छन् ।’ केवाईसीलाई डिजिटाइजेशन गरेर डिम्याट खाता खोल्दा सम्बन्धित व्यक्तिनै उपस्थित भएर वायोमेन्ट्रिक दिनुपर्ने व्यवस्था गरेपछि त्यस्ता कार्य स्वत रोकिने समेत उनको तर्क थियो ।

केवाईसीलाई डिजिटाजेशनमा नलगेसम्म यस्ता गलत काम गर्ने व्यक्तिले प्रशय पाइरहने समेत उनको भनाई थियो । ‘केही समय अघि एउटा व्यक्तिले आफ्नो नाममा अर्केले डिम्याट एकाउण्ट खोलेर आईपीओमा आवेदन दिँदा आफुले उक्त आईपीओमा आवेदन दिन नपाएको भन्दै गुनासो गर्न आएका थिए,’ उनले भने, ‘त्यतिवेला अर्काको कागजात प्रयोग गरेर कर्मचारीसँगको मिलेमत्तोमा गैरकानूनी रुपमा डिम्याट खोल्नेलाई आईपीओ पर्यो तर सम्बन्धित व्यक्तिले भने आईपीओ नै दिन पाएन ।’ यदि बैंक खाता र डिम्याट खोल्ने संस्थाको मिलेमत्तो नभएमा अन्य व्यक्तिको नाममा कसले खाता खोल्न सक्छ ? ढुंगानाको प्रश्न थियो । तसर्थ आफुहरुले त्यसैलाई निरुत्साहित गर्न केवाईसी डिजिटाईजेशन गर्न लागिएको ढुंगानाको तर्क थियो ।

यसैगरी नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा आफुहरुलाई कुनै जानकारी नआएको बताएको छ । ‘केही समय अघि केही बैंकले बोराका बोरा नागरिकता तथा चेक संलन गरेर फ्रड गरेको भेटिएको थियो,’ नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले भने, ‘सो सम्बन्धमा हामीले छानविन गरेर काराबही समेत गरेको थियौं ।’ कर्मचारीको मिलेमत्तोमा सम्बन्धित व्यक्ति नै उपस्थित नभई नागरिकता संकलन गरेर खाता खोलेका उजुरीहरु आएका छैनन् । तर बैकहरुले बोराका बोरा नागरिकताको फोटोकपी र चेक संकलन गरेर फ्रड गरेजस्तै खाता खोल्ने सम्बन्धमा पनि गलत क्रियाकलाप हुन सक्ने भएकाले यस सम्बन्धमा पनि राष्ट्र बैंकले अनुसन्धान गर्ने उनको भनाई थियो ।

नेपालमा अर्काको नाममा फारम भर्नेदेखि फेक एकाउण्ट खोलेर आईपीओको आवेदन दिने धन्दा चलाएको २० बर्ष हुँदा पनि नियामकले चासो नदिँदा यसले थप प्रशय पाएको छ । आफैले ल्याएको नियम विरुद्ध काम भैरहँदा पनि नियामक निकाय चुप लागेर बस्दा यसले थप शंका पैदा गरेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL