Logo

एक बर्षमा १ खर्बको धितोपत्र सुचिकृत हुँदा ३३.६६ अर्बकोले पाए निष्काशन अनुमति, विएफआएजको हिस्सा ७८ %

एक बर्षमा १ खर्बको धितोपत्र सुचिकृत हुँदा ३३.६६ अर्बकोले पाए निष्काशन अनुमति, विएफआएजको हिस्सा ७८ %



काठमाडौं । एक बर्षमा करिव १ अर्ब रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६/७७ मा ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको थप धितोपत्र सुचिकृत भएको हो ।

सो अबधिमा.३१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिबेन्चर, २८ अर्ब १५ करोड रुपैयाँ बराबरको बोनस सेयर, .१३ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ४ अर्ब ६९ करोड रुपेयँ बराबरको हकप्रद सेयर र १५ अर्ब १४ करोड रुपैयाँ बराबरको अन्य गरी करिव १ खर्ब रुपैयाँ बराबरको धितोपत्र नेप्सेमा सुचिकृत भएको हो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३३ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन अनुमति दिएको छ । जसमा २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको साधारण सेयर र १ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनको अनुमति दिएको हो ।

यसैगरी १ बर्षको अबधिमा नेप्से परिसुचक १०३ अंकले बढेको छ । २०७६ असार मसान्तमा १२५९ विन्दु रहेको नेप्से सूचकाङ्क २०७७ असारमा १३६२.४ विन्दु पुगेकोछ । यसैगरी बजार पूँजीकरण समेत बढेको छ । असार मसान्तमा धितोपत्र बजार पँुजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ पुगेकोछ । २०७६ असार मसान्तमा बजार पूँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०७६ असार मसान्तमा ४५.३ प्रतिशत रहेकोमा २०७७ असार मसान्तमा ४७.६ प्रतिशत पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्