Logo

निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने, अनलाईबाटै कारोबार गर्न नियामकको आग्रह

निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने, अनलाईबाटै कारोबार गर्न नियामकको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा आज राती देखि जारी हुने निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने भएको छ । यस अघि लकडाउन हुँदा ३ महिनाभन्दा बढी बन्द भएको सेयर बजार भने यसपटकको निषेधाज्ञामा बन्द नगरिने नियामक निकाय धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।

पछिल्लो समय सेयर कारोबारका लागि अनलाईन प्लेटफर्मलाई प्रभावकारी बनाएको र जसले गर्दा निषेधाज्ञामा पनि सेयर बजार बन्द नगरिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘अहिले अनलाईनबाटै सेयर खरिदबिक्री गर्न सकिन्छ भने सोको भुक्तानी पनि अनलाईन (आईपीएस कनेक्ट)बाटै जतिपनि रकम रकमान्तर गर्न सकिन्छ,’ उनले भने, ‘सेयर खरिदबिक्री र सोको सेटलमेण्ट अनलाईबाटै सामाजिक दूरी कामय गरेर गर्न सकिने भएपछि किन बजार बन्द गर्नु ।’

धितोपत्र बोर्डले केही समय अघि सबै लगानीकर्तालाई अनलाईबाटै सेयर खरिदबिक्री र सोको सेटलमेन्ट गर्न आग्रह गरेको थियो । जसअनुसार हालसम्म ६० हजारभन्दा बढी लगानीकर्ताले अनलाई युजर र पासवर्ड लिईसकेका छन् । अनलाईन नलिएका लगानीकर्तालाई पनि विषम परिस्थतीमा फोनबाटै भएपनि सेयर खरिदबिक्री गर्न पाईने व्यवस्था गरिने उनले जानकारी दिए ।

साथै सेयर कारोबारलाई प्रविधिमैत्री बनाइएको अवस्थामा लगानीकर्ताहरु पनि सोही अनुरुप अनलाईन प्रणालीमा जानुपर्ने ढुंगानाको तर्क थियो । ‘लगानीकर्ताहरु आफुचाहिँ सेयर कारोबार सबै आधुनिक प्रविधिमैत्री हुनुपर्छ भन्ने माग राख्ने अनि आफुचाहिँ म्यानुअल्ली गर्छु भन्न कहाँ पाहिन्छ,’ उनले भने, ‘अब लगानीकर्ताहरुले पनि प्रविधिमैत्री भएर सोही अनुरुप सेयर कारोबार गर्नुपर्छ ।’

यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि निषेधाज्ञाको समयमा सेयर बजार बन्द नहुने बताउँछन् । सेयर बजार पनि अत्यावश्यकीय सेवा भएको र पछिल्लो समय पूर्णरुपमा अनलाईन प्रणालीमा गएकोले सोही अनुरुप बजार संचालन गरिने उनले जानकारी दिए । ‘हामीले लगानीकर्ताहरुलाई अनलाईनबाटै सेयर खरिदबिक्री गर्न प्लेटफर्म दिएका छौं,’ उनले भने, ‘सोही अनुरुप लगानीकर्ताले सेयर कारोबार गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्