Logo

यसकारण ओरोलो लाग्दैछ नेप्से, लगानीकर्ता भन्छन्– हामी पर्ख र हेरको अवस्थामा छौं

यसकारण ओरोलो लाग्दैछ नेप्से, लगानीकर्ता भन्छन्– हामी पर्ख र हेरको अवस्थामा छौं


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय लगानीकर्ताहरुले सामाजिक संजालमा सेयर बजार बढ्ने भन्दै आफ्ना प्रतिक्रियाहरु राखेपनि ठिक त्यसको विपरित सेयर बजार ओरालो लाग्न थालेको छ । कोरोना पछि खुलेको बजार केही समय उच्च वृद्धि भएपनि त्यसयता लगातार ओरालो लागेको छ ।

पछिल्लो समय नेपालमा कोरोनाको बढ्दो संक्रमण तथा नेप्सेमा सुचिकृत कम्पनीकोहरुको खुद नाफा तथा वितरणयोग्य नाफामा आएको उच्च गिरावटका कारण पनि नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘लकडाउन पछि बजार खुल्दा कोरोना संक्रममा केही कमि आएको थियो भने आर्थिक क्रियाकलाप पनि सुचारु हुन थालेका थिए,’ एक लगानीकर्ताले भने, ‘तर पछिल्लो समय कोरोना संक्रमण बढ्नुका साथै आर्थिक गतिविधिहरु समेत साधुरिँदै गएकाले लगानीकर्ताहरुले आफुसँग भएको पैसा समेत होल्ड गर्न थालेका छन् ।’

आर्थिक गतिविधिहरु साधुरिँदै जानुका साथै बैंकहरुबीच कर्जा तानातानमा अस्वस्थ्य प्रतिस्पर्धा तथा कोरोनाकै कारण कर्जा विस्ता हुन नसक्दा त्यसले दिने प्रतिफलमा समेत गिरावट आउने देखिएको छ । साथै पछिल्लो समय राष्ट्र बैंकले कर्जा एक बैंकबाट अर्कोमा सार्नका लागि प्रि पेमेन्ट चार्ज ०.१५ प्रतिशतमा तिर्दा पुग्ने नियम बनाएको हुँदा बैंकहरुबीच कर्जा तान्नमै अस्वस्थ्य प्रतिस्पर्धा हुन थालेको एक बैंकरले जानकारी दिए । ‘यसअघि त्यसरी एक बैंकबाट अर्को बैंकमा कर्जा सार्दा २ प्रतिशतसम्म प्रि पेमेन्ट चार्ज तिर्नु पर्दथ्यो जसले गर्दा कर्जा खोसाखोस हुँदैन्थ्यो,’ ती बैंकरले भने, ‘तर अहिले ०.१५ प्रतिशतमात्र प्रि पेमेन्ट चार्ज तिर्दा हुने भएकाले बैंकहरुबीच कर्जा खोस्नमै अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ ।’

यसैगरी राष्ट्र बैंकले असारसम्म नउठेको कर्जाको हकमा तत्काललाई ५ प्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था गरेको छ । तर असोजसम्म पनि नउठेमा त्यसलाई बढाएर २५ प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था गर्न लागेकाले पनि बैंकहरुको नाफामा उच्च गिरावट आउने देखिएको छ । अहिले नै बैंकहरुको वितरणयोग्य नाफा एकदमै न्यून रहेको र अबका दिनमा झन समस्या बढ्ने भएकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

पछिल्लो समय काठमाडौं केन्द्रित बढ्दो कोरोना संक्रमण तथा देशमा आर्थिक गतिविधि सुचारु हुन कति समय लाग्ने हो भन्ने बारे अनिश्चित बन्दै गएपछि लगानीकर्ताहरु सजक हुन थालेको समेत ती लगानीकर्ताले जानकारी दिए । ‘अहिले लगानी गरेर आम्दानी गर्ने बेला त हो तर कोरोना त्रासका कारण लगानीकर्ताहरु नै बजार प्रवेश गर्ने सोचमा छैनन्,’ ती लगानीकर्ताले भने, ‘यदि यहि रफतारमा कोरोना संक्रमण बढ्दै गयो भने बजार अझै घट्ने छ ।’

अहिले बजारमा तरलता बाहेक बजार बढ्नु पर्ने कुनै कारण नभएको समेत अर्का एक लगानीकर्ताले बताए । ‘बजारमा तरलता (लगानी योग्य रकम) छ भन्दैमा यस्तो अवस्थामा ऋण लिएर सेयर किन्ने कुरा भएन,’ ती लगानीकर्ताले भने, ‘भोलीका दिनमा के हुने हो थाहा छैन तसर्थ अहिले पर्ख र हेरको अवस्थामा बस्ने हो ।’

सोही अनुरुप साताको पहिलो दिन बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १७.३३ अंकले घट्न पुग्यो । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ७७ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ४९ अंकको गिरावट आएको छ । तर बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि १९.३६ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL