काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर नेपालमा बढेसँगै लकडाउन लागु गरिएको छ । जसका कारण उद्योगधन्दा लगायतका बन्द गरिएका थिए । तर सरकारले सुरक्षा व्यवस्था अपनाएर संचालनमा ल्याउन सुझाव दिएसँगै उद्योगधन्दा, व्यवसाय संचालनमा आए ।
तर लकडाउन खुकुलो भए पनि सार्वजनिक यातायात भने हालसम्म पनि संचालनमा आउन सकिएका छ्र्रैनन । चैत १० गते लकडाउन भएसँगै बन्द भएका सार्वजनिक यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा परेको बताईरहेका छन् ।
तर सरकारले यसलाई अझै खुलाउने बारे चासो देखाएको छै । नेपाल सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा पनि सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना नबनाएको महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।
सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनैपनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको उनको भनाई छ ।
तर पछिल्लो समय भोलीदेखि अर्थात असार २१ गतेदेखि सार्वजनिक यातायात चलाउने भन्ने हल्ला फैलिएको उनको भनाई छ । उनले महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको कारण यसको छिट्टै टुंगो लाग्ने बताएका छन् ।
नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने उनले बताए । सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ । यसै सन्दर्भमा यातायात व्यवस्था विभागले मापदण्ड बनाउँदै छ ।
सार्वजनिक सवारीसाधनभित्र सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क अनिवार्य, सेनिटाईजिंग लगायतका शर्त राखेर मापदण्ड बनिरहेको विभागले जानकारी दिएको छ । तर उक्त मापदण्ड कार्यान्वयका लागि भने अगाडी बढिसकेको छैन ।