Logo

नेप्से र सेवोनलाई ‘रिटायर्ड’को अखडा बनाउँदा पूँजी बजार विकास हुन सकेन, ‘निकम्मा’ घोषणा गर्न माग

नेप्से र सेवोनलाई ‘रिटायर्ड’को अखडा बनाउँदा पूँजी बजार विकास हुन सकेन, ‘निकम्मा’ घोषणा गर्न माग



कामठाडौं । सेयर बजार सम्बन्धी नियामक निकायहरुलाई रिटायर्ड कर्मचारीको अखडा बनाउँदा नेपाली पूँजी बजारको विकास हुन नसकेको सेयर विश्लेषकहरुले बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेञ्जमा नयाँ सोच र प्रविधिलाई अघि बढाएर पूँजी बजारको विकास गर्ने खालको नेतृत्वभन्दा पनि विभिन्न निकायमा ३० बर्षभन्दा बढी समय जागिरे जीवन विताएर रिटायर्ड जिन्दगी विताउने व्यक्तिलाई नियुक्ती गर्दा समस्या उत्पन्न भएको सेयर विश्लेषकहरुले बताएका छन् ।

विशेषगरी पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नयाँ योजना अनुरुप काम गर्नुभन्दा पनि २/४ जना स्वार्थ समुहको लहैलहैमा लागेर सेयर बजारलाई बन्धक बनाउँदा समस्या उत्पन्न भएको सेयर विश्लेषक तथा लगानीकर्ता प्रकाश तिवारीले जानकारी दिए । ‘नेपाली पूँजी बजारको एकमात्र निकायम निकाय नेपाल धितोपत्र बोर्ड यति लामो समयसम्म पनि मौन बस्नु आफैमा लजास्पद कुरा हो,’ सेजनले आयोजना गरेको पूँजी बजार सुधार सम्बन्धी कार्यक्रममा उनले भने, ‘अहिले उहाँहरुले नेपालको पूँजी बजार युरोप अमेरिकाको जस्तो हैन भन्दै आउनु भएको छ यो सरासर गलत हो, कि त नेप्से तथा सेवोनले नेपालको पूँजी बजारमा संसारभरकै काम नलाग्ने निकम्मा हो भनेर घोषणा गर्नुपर्छ ।’

पछिल्लो समय सेवोनले विभिन्न खालका नयाँ व्यवस्थाहरु लागू गर्ने नाममा पूँजी बजारलाई बन्धक बनाएर राख्नु गैरकानुनी कार्य भएको समेत सम्बद्ध लगानीकर्ताले बताएका छन् । ‘अहिले सेबोनले पूँजी बजारलाई कसरी विकास गर्नेभन्दा पनि सिमित स्वार्थ समुहले के माग लिएर जान्छन सोही अनुरुप खोल्ने बन्द गर्ने वा नयाँ नीति अवलम्ब गर्ने काम गर्देै आएको छ,’ कार्यक्रममा बक्ताहरुले भने, ‘अहिले बजारमा च्याउसरी उम्रिएका स्वार्थ केन्द्रित लगानीकर्ता सम्बन्धी संघसंस्थाले जुन माग उठाएर आन्दोल वा सम्बद्ध निकायमा ज्ञापन पत्र बुझाउँछन् त्यसो पनि पूँजी बजारको सिद्धान्त अनुरुप छैन ।’

सेयर बजारले पूँजी निमार्ण र तरलता सृजना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुन नसकेको तिवारीले बताए । साथै नेपालको पूँजी बजार खोल्ने वा बन्द गर्ने निर्णय सरकार, धितोपत्रबोर्ड, नेप्से लगायतका नियमनकारी निकायहरुबाट नभई केहि सीमित लगानीकर्ताहरुको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दुखद पक्ष भएको समेत तिवारीले जानकारी दिए ।

२७ वर्षको इतिहासमा नेपालको सेयर बजार रुग्ण अवस्थामा रहेको, इक्विटी मार्केटमा मात्रै केन्द्रित रहेको बताउँदै उनले बोण्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्रयाउने पहल गर्न नसकेको आरोप लगाए । धितोपत्र बजारमा अन्य क्षेत्रका कम्पनीहरुलाई भित्रयाउन करका समस्या, रियलसेक्टरका कम्पनीहरुलाई बजार आउन दिने सहजता लगायतमा सुधारको आवश्यता भएको बताए ।

‘हामी सेयर बजार सुधारका लागि बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्छ भनिरहेका छौं यो गलत हो,’ उनले भने, ‘बजेट वा मौद्रिक नीतिलले पूँजी बजारका साना साना कुरालाई सम्बोधन गर्ने होइन यस क्षेत्रका समस्याहरु सम्बोधन गर्ने, नीति बनाउने काम बोर्डको हो, लगानीकर्ताहरुले पनि यस्ता कुरा बुझनु जरुरी छ ।’ मार्जिक कर्जाको सीमा मात्र बढाएर पनि बजारको समस्या समाधान नहुने भन्दै राष्ट्र बैंकले मार्जिन क्षेत्रमा बैंकले प्रबाह गर्ने कर्जाको सीमा हटाउनुपर्ने उनको सुझाव छ ।

हाल निक्षेप भन्दा बोण्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबारको सहज कारोबार हुन नक्सनु लगायतले बजारमा विस्तार हुन नसकेको समेत उनको निष्कर्ष छ ।

नेपाली पूँजी बजारमा गैर आवासीय नेपालीहरुलाई अहिलेकै अवस्थामा लगानी गर्न आउ भन्दैमा कोही पनि आएर लगानी गर्न सक्ने अवस्था नरहेको समेत उनले स्पष्ट पारे । ‘यहि बस्ने लगानीकर्ताहरुले सहज रुपमा लगानीगर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भित्रयाउछु भन्ने कोरा कल्पना मात्र हो,’ उनले भने, ‘लगानीका लागि प्रशस्त विकल्पहरु नभई बजारको विस्तार गर्न सकिँदैन जुन कुरा सेवोन र नेप्सेले गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL