Logo

लगानीकर्तालाई धितोपत्र बोर्डको बम्पर अफर : मार्जिन लेण्डिङ ७५ प्रतिशत, ब्रोकरलाई सहुलियत कर्जा

लगानीकर्तालाई धितोपत्र बोर्डको बम्पर अफर : मार्जिन लेण्डिङ ७५ प्रतिशत, ब्रोकरलाई सहुलियत कर्जा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि मार्जिन लेण्डिङ तथा कर्जा नविकरण लगायतका विषयमा सहजिकरण गर्न सिफारिस गरेको छ । हाल दैनिक रुपमा पूँजी बजार ओरालो लागेसँगै त्यसका सुधार ल्याउनका लागि मार्जिन लेण्डिङलाई बढाएर ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंक समक्ष सिफारिस गरिएको बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बताए ।

यसैगरी बोर्डले सेयर मूल्य घट्दा पनि सेयर धितोमा प्रदान गरिएको कर्जाको पहिला प्रदान गरिएको कर्जालाई आधार मानेर कर्जा नविकरण गरिदिने व्यवस्था गर्न सिफारिस गरिएको ढुंगानाले जानकारी दिए । ‘हामीले राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागि ल्याउने मौद्रिक नीतिमा पूँजी बजार सुधारका लागि थुप्रै सुझावहरु दिएका छौं,’ उनले भने, ‘जसमध्ये लगानीकर्तालाई तत्काल प्रत्यक्ष फाइदा पुग्नेमा हालको ६५ प्रतिशतको मार्जिन लेण्डिङलाई बढाएर ७५ प्रतिशत बनाएको छौं भने कर्जा नविकरण तथा ब्रोकरलाई सहुलियत कर्जा प्रदानका लागि सिफारिस गरिएको छ ।’ साथै उक्त व्यवस्था कार्यान्वयनमा आएमा लगानीकर्ताले सेयर कर्जा लिएर नविकरण गर्दा मौजुदा मूल्यमा २० प्रतिशत गिरावट आएपनि पुरानै रकमलाई आधार बनाएर कर्जा नविकरण गर्नुपर्ने हुन्छ ।

उनका अनुसार लगानीकर्तालाई ब्रोकरबाटै मार्जिन लेण्डिङको व्यवस्था गर्न सहुलियत कर्जा प्रदान गर्नका लागि समेत सिफासिर गरिएको छ । ‘लगानीकर्तालाई न्यून ब्याजदरमा मार्जिन लेण्डिङको व्यवस्था गर्न हामीले राष्ट्र बैंक समक्ष ब्रोकरलाई सहुलियत कर्जा प्रदान गर्न सिफारिस गरेका छौं,’ उनले भने, ‘सम्भवत यी विषयलाई राष्ट्र बैंकले अब आउने मौद्रिक नीतिमार्फत सम्बोधन गर्नेछ ।’

सरकारले पूँजी बजार सुधारका लागि कुनै सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिरहेको वेला बोर्डले भने बजार सुधारका लागि थुप्रै प्रस्तावहरु राष्ट्र बैंक समक्ष पेश गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्