Logo

धेरै र थोरै कमाउने लगानीकर्ताको चेपुवामा नेप्से, परिसुचक ६८ अंकले घट्दा कारोबार पौने ३ अर्बमै सिमित

धेरै र थोरै कमाउने लगानीकर्ताको चेपुवामा नेप्से, परिसुचक ६८ अंकले घट्दा कारोबार पौने ३ अर्बमै सिमित



काठमाडौं । बजारमा अल्पकालिन लगानीकर्ताका कारण नेप्से परिसुचकमा दैनिक रुपमा उच्च उतारचढाव आएको छ । बजारमा धेरै कमाउन चाहने तथा छोटो समयमा समान्य नाफा बुक गरेर बाहिरिने लगानीकर्ताका कारण नेप्से परिसुचकले गति समात्न सकेको छैन ।

गत हप्ता दैनिक रुपमा ७० अंकसम्म उकालो लागेको नेप्से परिसुचक यो हप्ता नेप्से इतिहासमै पहिलो पटक ९६ अंकको गिरावट आएको थियो । मंगलबार सामान्य रुपमा बढेको नेप्से परिसुचकमा बुधबार पुनः ६८ दशमलव ४७ अंकको गिरावट आएको छ ।

बजारमा दिर्घकालिनभन्दा पनि अल्पकालिन लगानीकर्ताको वर्चश्व रहेका कारण नेप्से अस्थिर बन्दै गएको एक लगानीकर्ताले बताए । ‘अहिले बजारमा कम्पनी प्रोफाइल विश्लेषण गरेरभन्दा पनि हल्लाको भरमा सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको संख्या बढी छ,’ ती लगानीकर्ताले भने, ‘जसले गर्दा नेप्सेमा दैनिक रुपमा उच्च अंकको उत्तारचढाव आईरहेको छ ।’

यसैगरी पछिल्लो समय कोरोना भाइरसको प्रभावका कारणले गर्दा पनि नेप्से परिसुचकमा नकारात्मक असर पारेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सोही अनुरुप यो हप्ता नेप्से परिसुचकमा उच्च गिरावट आएको छ ।

यो हप्ता परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । गत हप्ता दैनिक पौने ५ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा बुधबार २ अर्ब ९० करोड रुपैयाँमा सिमित भएको छ ।

उच्च रुपमा घटेको बजारमा सबैभन्दा बढी जीवन बीमा कम्पनीको सेयर ४५७ अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा कम्पनीको परिसुचकमा पनि सोही अनुरुप ४०६ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि ६१ अंकले खस्किएको छ भने राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामार्फत लाभांश वितरणमा कडाई गरेको माइक्रोफाइनान्स समुहको परिसुचकमा १४८ अंकको गिरावट आएको छ ।

यस अघि बजार बढ्दा उच्च रुपमा उकालो लागेको उत्पादनमुलक समुहको परिसुचकमा पनि ८८ अंकले गिरावट आएको छ । बजारमा ‘क’ बर्गको कम्पनीको प्रतिनिधित्व गर्ने सेन्सेटिभ समुहको परिसुचक पनि १५ अंकले खस्किन पुगेको छ । दिनभर कुल १७४ कम्पनीको ६७ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL