बिजखबर संवाददाता
२४ असार, काठमाडौं । अपि हाइड्रोपावर कम्पनीले बिहीबारदेखि साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ३० लाख कित्ता साधारण सेयरका लागि आवेदन खुला गरेको हो ।
कम्पनीले सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटलाई तोकेको छ । आवेदकहरुले एनआइबिएलका देशभर रहेका ४५ शाखा, अपि पावर कम्पनीको थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय र जनता बैंकका जुनसुकै शाखामा आवेदन दिनसक्ने छन् ।
कम्पनीको सेयर छिटोमा असार २८ गते देखि ढिलोमा साउन ७ गते सम्म भर्न सकिने छ । कम्तीमा ५० कित्ता देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई निस्काशित कुल सेयरको ३ प्रतिशत छुट्याएको छ ।
हाल आयोजनाको सम्पूर्ण काम सकिएको छ । दार्चुलाको नौगाढ खोलामा निर्माण भइरहेको आयोजनाको विद्युत् उत्पादन क्षमता साढे ८ मेगावााट रहेको छ ।
आयोजनाको कूल लागत १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा ९८ करोड रुपैयाँ नेपाल बैंकको नेतृत्वमा प्राइम बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक र बैंक अफ काठमाण्डूले संयुक्त लगानी गरेका छन् ।