Logo

स्मार्ट चालक अनुमतिपत्र छपाईमा बल्ल आयो तिव्रता, दैनिक ५ हजार कार्ड छापिदै

स्मार्ट चालक अनुमतिपत्र छपाईमा बल्ल आयो तिव्रता, दैनिक ५ हजार कार्ड छापिदै



काठमाडौं । झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै ५ हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक तीन सिफ्टमा‘‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ । मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरु प्रिन्टरमार्फत दैनिक ९ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार÷पाँच महिनाभित्रैमा बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उनको भनाइ छ ।

‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुराना चार उपकरण मर्मत गर्न लागिएको विभागले जानकारी दिएको छ । तीन ‘सिफ्ट’ मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सात जना कर्मचारीले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्