काठमाडौं । अब ब्रोकर कम्पनीले नै मार्जिन कारोबार गर्न पाउने भएका छन । नेपाल धितोपत्र बोर्डले बिहीबार धितोपत्र केन्द्रिय सेवा नियमावली २०६८ संसोधन गरी ब्रोकरमार्फत गरिने मार्जिन कारोबारको लागि बाटो खुलाएको हो ।
उक्त नियमावली संसोधन गरेसँगै अब सीडीएससीलाई छुट्टै हितग्राही खाता खोल्नका लागि समेत बाटो खुलेको बोर्डले जानकारी दिएको छ । यसपछि सीडीएससीले सेवाग्राहीका लागि मार्जीन कारोबार गर्न छुट्टै डिम्याट खाता खोल्ने व्यवस्था गर्नेछ । जसअनुसार सेयर ब्रोकरकहाँ सेवाग्राहीले सोही खातामार्फत मार्जिन कारोवार गर्न सक्नेछन ।
मार्जिन कारोवारका लागि लगानीकर्ताहरुले विभिन्न समयमा दवाव दिँदै आएका थिए । तर नेप्से, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकहरुको समन्वय नहुँदा उक्त प्रक्रिया अघि बढ्न सकेको थिएन । उक्त संसोधन पश्चात मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा वृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डले विश्वास लिएको छ ।