Logo

विद्युतीय सार्वजनिक यातायात संचालनमा होडबाजी, छैन चार्जिङ स्टेशन

विद्युतीय सार्वजनिक यातायात संचालनमा होडबाजी, छैन चार्जिङ स्टेशन



काठमाडौं । विश्वका धेरैभन्दा धेरै सडकमा विद्युतीय सवारीसाधनले अग्रसरता पाईरहेको बेला नेपालमा पनि यसको चर्चा चुलिएको छ । नेपालमा निजी प्रयोजनको लागि यस्ता सवारीसाधनहरु प्रयोगमा आईसकेको भएपनि सार्वजनिक सवारीसाधन भने संचालनमा आउने प्रक्रियामा छन ।

नेपालको सडकमा विद्युतीय सार्वजनिक सवारीसाधन चलाउनका लागि सरकारदेखि निजी कम्पनीहरु पनि लागिपरेका छन । हालै निजी कम्पनी सुन्दर यातायातले नाडा अटो सो पछि आफ्ना विद्युतीय बसहरु संचालनमा ल्याउने बताएको छ ।

यस्तै सुन्दर यातायातभन्दा पहिले नै नेपाल सरकारले लुम्विनी विकास कोषमार्फत गत कात्तिकमा ५ ओटा विद्युतीय बसहरु खरिद गरेको थियो । उक्त बसहरु साझा यातायातलाई चलाउन दिएपनि साझाले हालसम्म चार्जिङ स्टेसनको कमिका कारण चलाउन सकेको छैन ।

चालु आर्थिक बर्षको बजेटमार्फत साझा यातायातलाई ३ सय विद्युतीय बसहरु खरिद गर्नका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरी हस्तान्तरण समेत गरिसकेको छ । तर साझाले भर्खरै मात्रै उक्त बस खरिदको प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

साझा याातायातका कार्यकारी निर्देशक भुषण तुलाधरका अनुसार सरकारी निकाय, काठमाडौं महानगरपालिका, बस उत्पादक लगायतका निकायहरुसँग समन्वय गरी बस खरिद प्रक्रियाको बारेमा प्रक्रिया अघि बढाईएको छ ।

साझाले विद्युतीय बस खरिदका लागि कागजातहरु तयार गर्ने, टेण्डरका लागि कागजात तयार गर्ने लगायतका कामहरु गर्नका लागि समिति गठन गरेको छ । साथै उक्त समितिमा १२ देखि १५ जना विभिन्न सडकहरुको अध्ययन तथा अनुसन्धान गर्नतिर लागिपरेका छन ।

तर साझाले हालैमात्रै कागजात तयार गर्ने लगायतका कामहरु गर्दा टेण्डर आह्वान गर्न, डकुमेन्ट तयार गर्न कम्तीमा पनि ३ देखि ४ महिना लाग्ने कार्यकारी निर्देशक तुलाधरले बताए । सोही अवधीमा निजी कम्पनी सुन्दर यातायातले भने आफ्ना विद्युतीय बसहरु काठमाडौंका सडकमा गुडाएर काठमाडौं बाहिरपनि सेवा विस्तार गरिसक्ने बताएको छ ।

सुन्दर यातायातले नाडा अटो शो पश्चात तुरुन्तै आफ्ना ७ विद्युतीय बसहरु काठमाडौको सडकमा गुडाउने योजना बनाएको छ । विद्युतीय बस चलाउन साझा भन्दा पछि प्रक्रिया अघि बढाएको सुन्दर यातायातले साझाभन्दा अघि नै आफ्नो सेवा विस्तार गर्दै नेपालभर सेवा दिने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

काठमाडौंमै मात्रै यसरी विद्युतीय सार्वजनिक यातायात चलाउने सम्बन्धी विभिन्न प्रक्रिया अघि बढिरहँदा बसहरुलाई चार्ज गर्नका लागि चार्जिङ स्टेशनको खाँचो भने खड्किरहेको पाईन्छ । सरकारले चार्जिङ स्टेशनका लागि उचित नीति तथा नियमन गर्न नसक्दा भएका विद्युतीय बसहरु पनि चल्न नपाउने अवस्था सिर्जना भएको छ ।

सुन्दर यातायातले भने काठमाडौंको सडकमा विद्युतीय बस गुडाउन सितापाईला र धुम्बाराहीमा २ ओटा र आफ्नो मेन स्टेसनमा चार्जिङ स्टेसन राखेको जानकारी दिएको छ । यता साझा यातायातले भने चार्जिङ स्टेशनका लागि सरकारसँग समन्वय गर्ने भएको छ । नेपालमा हाल विद्युतीय टेम्पो चार्जिङ गर्नका लागि मात्रै ३२ ओटा चार्जिङ स्टेशन रहेका छन ।

प्रतिक्रिया दिनुहोस्