Logo

आर्थिक बर्षको सुरुमै सेयर बजारमा देखियो चमक, ३३ प्रतिशत पूँजीगत लाभकर घट्दा लगानीकर्तालाई राहत

आर्थिक बर्षको सुरुमै सेयर बजारमा देखियो चमक, ३३ प्रतिशत पूँजीगत लाभकर घट्दा लगानीकर्तालाई राहत



काठमाडौं । आर्थिक बर्ष २०७६/७७ को पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो गति लिएको बजार अन्तिम समयमा १५ दशमलव ८५ अंकले उकालो लागेको हो ।

सेयर बजारमा आजदेखि साविकको पूँजीगत लाभकर ३३ प्रतिशतले घटेको छ । चालू आबको बजेटले गरेको सो व्यवस्था कार्यान्वयनमा आएसँगै यस अघि लगानीकर्ताले तिर्दै आएको पूँजीगत लाभकर ३३ प्रतिशतले घट्न पुगेको छ ।

यसअघि लगानीकर्ताले सेयर कारोबारमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । तर, आजबाट ५ प्रतिशतमात्र तिरे पुग्छ । लगानीकर्ताले माग गरे अनुरुपको पूँजीगत लाभकर गणना विधी सोही अनुरुप सरकारले बजेटमार्फत नै पूँजीगत लाभकर घटाएपछि त्यसले लगानीकर्तामा थप आत्मबल बढेको सम्मद्ध लगानीकर्ताहरु बताउँछन् ।

आर्थिक बर्षको पहिलो दिन बजारमा प्रायःजसो समुहका परिसुचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समुह उकालो लागेको छ । बजारमा निर्जीवन बीमा समुहको परिसुचक ५५ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ४९ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि हिस्सा ओगटेको बैंकिङ समुहको परिसुचकमा पनि १६ दशमलव ६९ अंकको वृद्धि भएको छ । बुधबार विकास बैंक २७ अंकले बढ्दा उत्पादनमुलक ३५ र माइक्रोफाइनान्स समुहको परिसुचक २६ अंकले बढ्न पुगेको छ । दोहोरो अंकले बढेको बजारमा होटल र फाइनान्स समुहका परिसुचकमा भने गिरावट आएको छ ।

दिनभर नेप्से परिसुचकमा चकम आएपनि कारोबार रकमले भने गति लिन सकेन , दिनभर कुल ४२ करोड ६७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय १७ कम्पनीको १३ लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा सबैभन्दा बढि नेपाल बैंकको ४ करोड ७५ लाख रुपैयाँको सेयर किनवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL