Logo

आर्थिक बर्षको अन्तिम दिन लगानीकर्ता झुक्याएर विदा भयो नेप्से, कारोबार रकममा पनि गिरावट

आर्थिक बर्षको अन्तिम दिन लगानीकर्ता झुक्याएर विदा भयो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । चालू आर्थिक बर्षको अन्तिम दिन बजार खुल्दा उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा सामान्य मात्र वृद्धि भएको छ । बजार खुल्दा नै ३० अंकको आसपासमा बढेको नेप्से परिसुचक बजार बन्द हुँदा ४ दशमलव ४५ अंकले मात्र बढ्न पुग्यो ।

मंगलबार प्रि कारोबारमा ब्रोकरहरुले चलखेल गर्दा बजार उच्च रुपमा बढ्न पुगेको थियो । जसमा १० र २० कित्ता सेयरको बढि कारोबार गर्दै बजार उचालिएको थियो । सो समयमा सामान्य लगानीकर्ताहरु हौसिएका थिए । बजार खुल्दा १ हजार २ सय ८५ अंकमा पुगेको बजार क्रमश घटाउँदै १ हजार २ सय ५९ अंकमा झरेको छ । बजारको सो साईकलमा सामान्य लगानीकर्तालाई राहतभन्दा पनि आहत बढि हुन पुग्यो ।

सामान्य रुपमा उकालो लागेको बजारमा सबैजसो समुहका परिसुचक हरियो भएका छन् । जसमा सबैभन्दा बढि होटल समुहको परिसुचक ५६ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक १० अंकले बढेको छ । त्यसबाहेक अन्य समुहका परिसुचकले दोहोरो अंकको वृद्धि समात्न सकेनन् ।

चालू आबको अन्तिम दिन कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर कुल ३४ करोड ७२ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढि नेपाल बैंकको ५ करोड ७८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ६१ कम्पनीको १९ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्