काठमाडौं । दिनभर सामान्य घटवढमा चलेको नेप्से परिसुचक अन्तिम समयमा दोहोरो अंकले बढ्न पुगेको छ । बजार बन्द हुन १५ मिनेट मात्र बाँकी हुँदा सामान्य कारोबारमा बजार उच्च रुपमा बढाइएको छ ।
बजारमा केही सिमित समुहको स्वार्थमा अन्तिम समयमा ह्वात्तै बढाइएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अन्तिम समयमा सामान्य कारोबारमा बजार ११ अंकले बढ्दा नेप्से परिसुचक १ हजार २ सय ५० अंकमाथी पुगेको छ ।
अन्तिम समयमा दोहोरो अंकले बढेको बजारमा अतिरिक्त, उत्पादनमुलक र होटल बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको परिसुचक १ सय ७ अंकले बढ्न पुगेको छ ।
यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ११ अंकको वृद्धि भएको छ । बजारमा जीवन बीमा समुहको परिसुचक ८७ अंकले बढ्दा माइक्रोफाइनान्स समुह १३ अंकले उकालो लागेको छ ।
अन्तिम समयमा बजार दोहोरो अंकले बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । दिनभर कुल ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ७० कम्पनीको १४ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको छ ।