काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । आईतबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १२ दशमलव २७ अंकले घट्दै १ हजार २ सय ५० अंकभन्दा तल झरेको छ ।
दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुह ६० र जीवन बीमा समुहको परिसुचक ५८ अंकले ओरालो लागेका छन् ।
यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ११ दशमलव ८५ अंकले गिरावट आएको छ । आईतबार उत्पादनमुलक ३६, विकास बैंक १२, माइक्रोफाइनान्स १५ र जलविद्युत समुहको परिसुचकमा १३ अंकको गिरावट आएको छ ।
बजारमा ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको कारोबार हुँदा समग्र कारोबार रकम बढ्न पुगेको छ । आईतबार ग्लोबल आईएमई बैंकको १० करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ।
उक्त सेयर आईएमई ग्रूप अन्तरगतकै वल्र्डवाईड इन्भेष्टमेन्टले खरिद गरेको छ । ब्रोकर नम्बर २, ४ र ४५ बाट बिक्री भएको सेयर ब्रोकर नम्बर ४२ मार्फत खरिद भएको छ ।दिनभर बजारमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७२ कम्पनीको २३ लाख ६१ हजार कित्ता सेयर कारोबार भएको छ ।