Logo

रसुवागढी र सान्जेन हाइड्रो पावरको आईपिओ बाँडफाँड, उर्जा मन्त्री पुनलाई २० कित्ता अरुलाई कति

रसुवागढी र सान्जेन हाइड्रो पावरको आईपिओ बाँडफाँड, उर्जा मन्त्री पुनलाई २० कित्ता अरुलाई कति



काठमाडौं । रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिहीबार बाँडफाँड भएको उक्त आईपिओ सभामुख कृष्णबहादुर महरालाई रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता र सान्जेन जलविद्युत आयोजनाको २० कित्ता सेयर परेको छ ।

त्यस्तै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०÷२० कित्ता सेयर परेको छ । दुवै कम्पनीले जनताको जलविद्युत योजना अन्तर्गत बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए ।

रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता आईपिओ निष्काशन गरेको हो । यसमध्ये ४ प्रतिशत वा ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत वा ५ लाख १३ हजार १ सय ५७ कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन ।

रसुवागढीको आईपिओमा ३ लाख २ हजार ३ सय ४३ आवेदकले आवेदन दिएका थिए । जस मध्ये ११ हजार ७१ आवेदकको आवेदन रद्द भएको छ । योग्य रहेका बाँकि २ लाख ९१ हजार २ सय ७२ आवेदक सबैले सेयर पाएका छन् ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४० कित्तासम्मको लागि आवेदन दिने सबैले माग गरे अनुसारकै सेयर पाएका छन् । अर्थात् १० कित्ताको लागि आवेदन दिनेले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने २० कित्ता, ३० कित्ताको लागि आवेदन दिनेले ३० कित्ता नै र ४० कित्ताको लागि आवेदन दिनेले ४० कित्ता सेयर पाएका छन् । ५० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर थप १० कित्ता सेयर दिईएको क्यापिटलले जानकारी दिएको छ ।

क्यापीटलका अनुसार २५ हजार ६ सय ९३ जनाले ५० कित्ता सेयर पाएका छन । त्यस्तै ५० देखि ५ हजार कित्तासम्मको लागि आवेदन दिने मध्येबाट ७ जनाले थप १ कित्ता सेयर पाएका छन् ।

त्यस्तै सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

सान्जेंनको आईपिओमा तीन लाख ५ सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये ११ हजार सात सय आवेदकको आठ लाख ७३ हजार ५ सय १० कित्ता आवेदन रद्द भएको छ । बाँकी रहेका २ लाख ८८ हजार ८९७ योग्य आवेदक सबैले सेयर पाएका छन् ।

सान्जेंनमा सबै आवेदकले न्युनतम १० कित्ता सेयर पाएका छन् भने २० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने मध्येबाट २ लाख ९ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले सेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्