काठमाडौं । करिब दुई हप्ता लगातार बढेको सेयर बजार यो हप्ता पुनः ओरालो लाग्न सुरु गरेको छ । बजारमा उच्च कारोबार सहित दोहोरो अंकले बढेको बजारमा लगातार दुई दिन करेक्सन आएको छ ।
सोमबार बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ । कुल ११ दशमलव ७ अंकले घटेको बजारमा कारोबार रकममा समेत गिरावट आउँदै ९५ करोडमा खुम्चिएको छ ।
अघिल्लो हप्तासम्म उच्च कारोबार गराउँदै बजारबाट ठूला लगानीकर्ता तथा क्षणिक लगानीकर्ताहरु बाहिरिएका कारण बजारले करेन्सन समातेको एक ठूला लगानीकर्ताले बताए । ‘लामो समय स्थिर रहेको बजारलाई केही समय लगानीकर्ताहरुले चलायमान बनाएर बजार बढाउनुका साथै कारोबार रकम समेत बढाए,’ ती लगानीकर्ताले भने, ‘तर, पछि ठूलो भोल्युममा बिक्री गर्दै बजारबाट बाहिरिए ।’ अहिले बजारमा दई हप्ताको समयमा छिरेका साना लगानीकर्ताहरुको बाहुल्यता रहेको समेत ती लगानीकर्ताको भनाई थियो ।
यसैगरी पछिल्लो समय भारतीय व्यवसायी तथा राजनीतिक दलका नेताले नेपालको पूँजी बजारलाई कालोधन (स्रोत नखुलेको रकम) शुद्धिकरण बनाउने माध्यम बनाउँदा पनि पूँजी बजारमा क्षणिक उतारचढाव आएका अर्का लगानीकर्ताले बताए । ‘भारतीयहरुले चुनावी खर्चका लागि उनीहरुको कालोधन ल्याएर नेपाली तथा दोहोरो नागरिकतधारी मार्फत पूँजी बजारमा प्रवेश गराए,’ ती लगानीकर्ताले भने, ‘अहिले तीनै लगानीकर्ताहरु बजारबाट बाहिरिएका छन् जसले गर्दा नेप्सेमा पुनः चाप सुरु भएको हो ।’
अघिल्लो दुई हप्ता लगानीकर्ताको सोचाईभन्दा फरक ढङ्गबाट बजार बढेको र अहिले पुनः पुरानै अवस्थामा बजार फर्किन लागेको समेत सम्बद्ध लगानीकर्ताहरुले जानकारी दिएका छन् । साथै पछिल्लो समय समग्र नेप्से परिसुचक बढ्नुभन्दा पनि लगानीकर्ताले क्षेत्रगत रुपमा चलखेल गर्दै आएका छन् । लामो समय बैंकिङ समुह बढाउन चलखेल गरेका लगानीकर्ताले त्यसपश्चात बीमा समुहमा लगानी गरेका थिए । तर, सोमबारसम्म आईपुग्दा जलविद्युत समुहमा चलखेल गर्न सुरु गरेका छन् ।
सोबार दोहोरो अंकले घटेको बजारमा जलविद्युत समुहको परिसुचक ४६ अंकले उकालो लागेको छ भने फाइनान्स समुहका सामान्य मात्र वृद्धि भएको छ । तर, बजारमा त्यसबाहेक सबै समुहका परिसुचक घट्न पुगेका छन् ।
बजारमा सबैभन्दा बढी बीमा समुहका परिसुचक २/२ सय अंकले घटेका छन् । यसैगरी बजारमा बढी प्रभुत्व जमाएको बैंकिङ समुहको परिसुचकमा पनि ९ दशमलव ८२ अंकले गिरावट आएको छ ।